२५ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका १३ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । विवादका कारण रोकिएको उदयपुरको जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि सोमबार मतदान हुँदैछ ।
रास्वपा कोशी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख लालविक्रम थापाका अनुसार झापाको सभापतिमा ओम भण्डारी, मोरङमा भरत कँडेल र सुनसरीमा सागर दाहाल निर्वाचित भएका छन् । मोरङका कँडेल र सुनसरीका दाहाल यसअघि जिल्ला संयोजकको जिम्मेवारी थिए ।
सुनसरी जिल्लामा अधिवेशनका क्रममा हात हालाहालको अवस्था सिर्जना भएको थियो । प्रहरीले दुवै पक्षलाई सम्झाएपछि शनिबार नयाँ नेतृत्व चुनियो ।
यस्तै, ताप्लेजुङमा राजनकुमार गुरुङ, तेह्रथुममा सुमन खत्री, संखुवासभामा भक्तनारायण श्रेष्ठ, खोटाङमा मुकुन्दकृष्ण थापा र सोलुखुम्बुमा नारायणकाजी कार्की सर्वसम्मत जिल्ला सभापति चुनिएका छन् ।
पाँचथरमा प्रकाश गुरुङ र धनकुटामा भुवन थापा पनि निर्विरोध निर्वाचित भएका छन् ।
भोजपुरमा ख्यामबहादुर भुजेल, ओखलढुङ्गामा कृष्णबहादुर थापा, इलामको सभापतिमा दिनेश महत निर्वाचित भएका छन् ।
उदयपुरमा भने आइतबार विवाद भएपछि निर्वाचन प्रक्रिया रोकिएको थियो । सोमबार नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको प्रदेश महामन्त्री थापाले बताए ।
उनका अनुसार केही जिल्लामा बाहेक धेरै स्थानमा शान्तिपूर्ण रूपमा जिल्ला अधिवेशन सम्पन्न भएको बताए ।
रास्वपाले जिल्ला अधिवेशनमा समूह बनाएर निर्वाचन गर्न दिएको थिएन् । व्यक्तिगत रूपमा चुनाव लड्न छुट दिएको थियो । जसले गर्दा रास्वपाभित्र देखिँदै गएको बालेन शाह समूह र रवि लामिछानेको समूह छुट्टिएन् ।
तर, प्रदेशका सबै जिल्लामा लामिछानेनिकट रहेका नेताहरू सभापति चुनिएको रास्वपा स्रोत बताउँछ ।
प्रदेश महामन्त्री थापा भने जिल्ला अधिवेशनपछि पार्टी कोशी प्रदेशको पहिलो अधिवेशनमा जुटेको बताउँछन् । प्रदेशमा सर्वसम्मती नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चुनिने उनले बताए । प्रदेशमा निर्वाचन भए समूह बनाउन छुट नहुने उनको भनाइ छ ।
उनका अनुसार पहिलो प्रदेश अधिवेशन जेठ २७ गते मोरङको सुन्दरहरैचामा हुनेछ ।
‘प्रदेश अधिवेशनमा तीन हजार हाराहारी प्रतिनिधि सहभागी हुनुहुन्छ, प्रतिनिधिको सूची भने तयार भइसकेको छैन,’ उनले भने, ‘जिल्ला र पालिकाबाट आउनुहुन्छ, सहमतिका आधारमा अधिवेशनकै दिनपनि चयन गर्न सकिन्छ ।’
प्रतिक्रिया 4