0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रानीसैन विवाद : बाजुराका ३५ परिवार लखेटिए, भेडीगोठमा आगजनी

हुम्ला क्षेत्रका बासिन्दाले बाजुराको हिमाली गाउँपालिका–३ स्थित रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको स्थानीयले बताएका छन् ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ जेठ २७ गते ८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाका बासिन्दाले बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै उनीहरूको भेडीगोठमा आगजनी गरेका छन् ।
  • यसअघि जेठ ५ गते रानीसैन क्षेत्रमा धनगढीका नगरप्रमुख गोपाल हमालसहितको टोलीमाथि पनि कुटपिट र दुर्व्यवहार भएको थियो ।
  • तनावग्रस्त रानीसैन क्षेत्रको सुरक्षाका लागि हिमाली गाउँपालिका–३ लाम्पाटामा सुरक्षाकर्मीसहित अस्थायी प्रहरी चौकी स्थापनाको तयारी गरिएको छ ।

२७ जेठ, बाजुरा । दुई साताअघिको कुटपिट र दुर्व्यवहार घटना सेलाउन नपाउँदै बाजुराको रानीसैन, लाम्पाटा क्षेत्रमा पुन: तनाव बढेको छ ।

हुम्ला क्षेत्रका बासिन्दाले बाजुराको हिमाली गाउँपालिका–३ स्थित रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको स्थानीयले बताएका छन् ।

स्थानीय भोटे समुदायका अनुसार हुम्लाबाट आएका व्यक्तिहरूले रानीसैन क्षेत्रमा भेडा चराउनका लागि अस्थायी रूपमा बसोबास गर्दै आएका बाजुराका नागरिकलाई २३ जेठमा लखेट्नुका साथै उनीहरूका भेडीगोठमा आगजनी गरेका छन् ।

रानीसैनमा भोटे समुदायले प्रयोग गर्दै आएका मोबाइल फोनसमेत खोसेर लगिदिएको भोटे जनजाति महासंघका केन्द्रीय अध्यक्ष जनक भण्डारीले बताए ।

जनजाति समुदायका ३५ बढी परिवार रानीसैनमा भेडा, घोडासहित पुगेका थिए । हुम्लाबाट आएका स्थानीयले ‘यो हुम्लाको क्षेत्र हो’ भन्दै उनीहरूलाई लखेटेर भेडीगोठमा आगजनीसमेत गरेका हुन् । अस्थायी बसोबासका लागि प्रयोग गर्दै आएको बासस्थान जलाउनुका साथै अमानवीय व्यवहार गरेको स्थानीयले बताएका छन् । भेडीखर्कमा लगिएको खानेकुरा तथा भाँडाकुँडासमेत जलाइदिएको भोटे जनजाति महासंघले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पनि भेडीगोठ जलाएको देख्न सकिन्छ । प्रहरीकै अगाडि हुम्लाका एक स्थानीयले ‘रानीसैन हुम्लाको हो, बाजुराका जनजातिलाई यहाँबाट धपाएको हो’ भनेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

रानीसैन क्षेत्र नक्सा र गुगल म्यापमा बाजुरामा रहेको प्रष्ट देखिन्छ । लाम्पाटा र चियाचौरको जग्गामा बाजुराको मालपोत र नापी कार्यालय रहेको छ ।

यही जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितको टोलीमाथि आक्रमण गरिएको थियो ।

घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए । जेठ ३ गते हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङ लगायत स्थानीयलाई कुटपिट गरी बन्धक बनाएका थिए ।

पछिल्लो घटनाले रानीसैन क्षेत्रको विवाद झन् जटिल बन्दै गएको स्थानीयको भनाइ छ । भोटे समुदायका व्यक्तिहरूले आफूहरू असुरक्षित बनेको गुनासो गर्दै तत्काल सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी आगजनी, कुटपिट तथा लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । साथै, अन्तरजिल्ला सीमा तथा स्वामित्वसँग जोडिएका विवादलाई वार्ता र समन्वयमार्फत समाधान गर्न सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो समयमा भएको रानीसैन घटनाबारे जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरा तथा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले प्रहरीको टोली आज रानीसैन पुग्ने र घटनाबारे जानकारी लिने बताए ।

निरौलाका अनुसार बुधबारबाट हिमाली गाउँपालिका-३ लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्नेगरी तयारी भइरहेको छ । उक्त चौकीमा सशस्त्रको २१ जना र जनपथका ७ जना जनशक्ति रहनेछन् ।

बाजुरा प्रहरी प्रमुख शैलेश्वरी बोहोराले प्रहरी निरीक्षक लक्षिराज जोशीको नेतृत्वमा रानीसैनमा प्रहरी पठाइसकेको बताइन् । हुम्लाबाट पनि प्रहरीको टोली केही दिन पहिले नै रानीसैन पुगेको प्रहरीले जनाएको छ ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?