News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २८ जेठका लागि तय गरेको मधेश प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ ।
- मधेशका आठ जिल्लामध्ये पर्साबाहेक अन्य जिल्लामा नेतृत्व चयन प्रक्रियामा विवाद भएपछि जिल्ला अधिवेशन समयमै हुन नसक्दा प्रदेश अधिवेशन रोकिएको हो ।
- अनुशासन आयोगका केन्द्रीय प्रमुख भुवन केसीले सूचना जारी गर्दै अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू स्थगन गरिएको जानकारी गराए ।
२६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेश अधिवशेन स्थगित गरेको छ । २८ जेठका लागि तय भएको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
२३ र २४ जेठका लागि तोकिएको जिल्ला अधिवेशन समयमा हुन नसकेपछि प्रदेश अधिवेशन रोकिएको हो । मधेशका आठ जिल्लामध्ये हालसम्म पर्साको मात्रै अधिवेशन भएको छ । अन्य जिल्लामा प्रक्रिया सुरु भएपनि नेतृत्व चयनको प्रक्रियामा पुगेपछि विवाद भएर नयाँ समिति गठन हुन सकेको छैन ।
अनुशासन आयोग केन्द्रीय प्रमुख भुवन केसीले मंगलबार सूचना प्रकाशित गरेर मधेश अधिवेशन रोकिएको जानकारी गराएका हुन् ।
‘स्थगनको निर्णय मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरुमा लागु हुनेछ,’ अनुशासन आयोगका प्रमुख केसीले निकालेको विज्ञप्तिमा भनिएको छ ।
रास्वपाको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । प्रदेशतर्फ पहिलो अधिवेशन बागमतीबाट सुरु गरिएको छ । कोशीको जेठ २७, गण्डकीको २९, लुम्बिनीको ३०, कर्णालीको ३१ जेठ र सुदूरपश्चिम प्रदेशको अधिवेशन असार १ गतेका लागि तोकिएको छ ।
प्रतिक्रिया 4