0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

कर्णालीमा रास्वपा जिल्ला अधिवेशन : भाँडभैलो भएपछि सर्वसम्मत 

कर्णालीका १० मध्ये ९ जिल्लामा रास्वापाको अधिवेशन भएको छ । २ जिल्लामा निर्वाचन र बाँकी जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । तर, जाजरकोटलगायतका जिल्लामा भाँडभैलोकाबीच नयाँ नेतृत्व चयन भयो । सुर्खेतमा सभापतिबाहेकका पदाधिकारी चयन हुन बाँकी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते ७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका डोल्पाबाहेक ९ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
  • अधिवेशनमार्फत दैलेख र रुकुम पश्चिमबाहेक ७ जिल्लामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।
  • सुर्खेतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश कुमार सापकोटा पुनः जिल्ला सभापतिमा चयन हुनुभएको छ ।

२६ जेठ, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका ९ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । १० जिल्ला रहेको कर्णालीमा डोल्पाबाहेक नौ जिल्लामा सोमबार अधिवेशन सम्पन्न भएको हो ।

पार्टीको अधिवेशनमार्फत दैलेख  र रुकुम बाहेक सात जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिकांश जिल्लाहरूमा आइतबारबाट सुरु भएको अधिवेशन सोमबार बेलुकासम्म चल्यो । कतिपय जिल्ला अधिवेशनमा सुरुमा भाँडभैलो मच्चिए पनि अन्तत: सर्वसम्मत नेतृत्व चयन भएको छ ।

कर्णालीको प्रदेश राजधानी रहेको सुर्खेत जिल्ला सभापतिमा रमेश कुमार सापकोटा पुन: दोहोरिएका छन् । सापकोटा सुर्खेत क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी कर्णालीका रास्वपाबाट निर्वाचित एकमात्र सांसद हुन् । सभापतिमा सापकोटा चयन भएपनि अन्य पदाधिकारीमा भने अझै टुङ्गो लागेको छैन ।

धेरै आकाङ्क्षी भएपछि सर्वसम्मतिमा नेतृत्व टुङ्ग्याउनतिर छलफल भइरहेको रास्वपा कर्णाली प्रदेश अध्यक्ष मदनकुमार खड्काले जानकारी दिए । ‘आकाङ्क्षी धेरै भएपछि पदाधिकारीमा टुङ्गो लगाउन छलफल चलिरहेको छ । अबको केही समयभित्र टुङ्गो लाग्छ’, प्रदेश सभापति खड्काले भने ।

नेतृत्वमा चयनमा निकै रस्साकस्सी भएको दैलेखमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको छ । सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मतगणना अनुसार उनले ९२ मतसहित विजयी भएका हुन् ।‎

जिल्ला सभापतिमा चार जना आकाङ्क्षीहरू रहेको र सहमति जुट्न नसकेपछि मध्यरातमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको निवर्तमान सचिव प्रकाश बुढाले जानकारी दिए ।

उनका अनुसार निवर्तमान सभापति मित्र प्याकुरेलले ४१ मत  प्राप्त गरे भने अध्यक्षका अर्का आकाङ्क्षी प्रकाश बुढाले ६९ र विनी बहादुर शाहीले ४३ मत प्राप्त गरेका छन् । प्रकाश बुढा निवर्तमान सचिव हुन् ।

सभापतिमा निर्वाचित भण्डारीले ०७९ मा दैलेख–२ बाट रास्वपा बाटै प्रतिनिधि सभा चुनाव लेडेका व्यक्ति हुन् । त्यस्तै जिल्ला उपसभापतिमा गणेश बहादुर शाही र सचिवमा रमेश केसी निर्वाचित भएका छन् ।

रुकुम पश्चिममा पनि सहमति जुट्न नसक्दा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । सभापतिमा द्रोण खड्का निर्वाचित भएका छन् । प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै उनी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

खड्काले ४२ मत सहित निर्वाचित हुँदा चन्दले ३० मत प्राप्त गरेका थिए । कुल ११३ जना मतदाता रहेकामा ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ । जिल्ला उपसभापतिमा रिमप्रसाद शर्मा, सचिवमा दीपेन्द्रराज विष्ट, सहसचिवमा प्रेम बाँठा मगर निर्वाचित भएका छन् ।

रास्वपा कालीकोटको प्रथम अधिवेशनबाट सभापतिमा प्रेमबहादुर केसी निर्विरोध निर्वाचित भएका छन् । शनिबार मान्ममा आयोजित अधिवेशनबाट केसी निर्विरोध निर्वाचित भएका थिए । उनी यसअघि पनि जिल्ला सभापति थिए । उपसभापतिमा दिनेशबहादुर शाही, सचिवमा भुपेन्द्रजंग शाही, सहसचिवमा जीवनबहादुर शाही चयन भएका छन् ।

जुम्ला सभापतिमा मक्करबहादुर भण्डारी दोहोरिएका छन् । आइतबार सकिएको प्रथम जिल्ला अधिवेशनले उनलाई निर्विरोध जिल्ला सभापतिमा चयन गरेको छ । पहिलो जिल्ला अधिवेशनले उपसभापतिमा सुनिलबहादुर बुढा, सचिवमा जगतबहादुर खत्री, उपसचिवमा दानबहादुर बुढा र कोषाध्यक्षमा सीता रोकायालाई निर्विरोध निर्वाचित गरेको थियो । नवनिर्वाचित भण्डारी विद्यालय निरीक्षक, शिक्षा विकास तथा समन्वय इकाई जुम्लाको प्रमुख हुँदै रास्वपाका प्रवेश गरेर राजनीति प्रारम्भ गरेका व्यक्ति हुन् ।

जाजरकोटमा आइतबार हिजो अधिवेशनको क्रममा विवाद भए पनि सोमबार नयाँ समिति चयन गरिएको छ । जाजरकोटमा महेश सिंहको नेतृत्वमा नयाँ समिति गठन भएको छ । ‎अधिवेशनमा ४ जना सभापति पदका आकाङ्क्षी थिए हुँदा विवाद चर्किएको थियो । सभापतिका अकांक्षी सनद कार्कीले दाबी फिर्ता लिएपछि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको थियो ।

रास्वपा हुम्लामा लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उनी यसअघि उपसभापति रहेका थिए । भेलाले उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बोहोरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको छ ।

मुगुमा सोमबारदेखि सुरु भएको अधिवेशन जारी छ । नेतृत्वको लागी सर्वसम्मतिको प्रयास भइरहेको बताइएको छ । सल्यानको सभापतिमा प्रकाश नेपाली निर्वाचित भएका छन् भने उपसभापति टीकाराम केसी, सचिवमा श्रीकान्त राई, सहसचिव हीरा योगी र कोषाध्यक्ष सीता मल्ल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

डोल्पामा दुई महिना अघि मात्रै तदर्थ समिति बनेको हुँदा महाधिवेशन पछि मात्रै नयाँ नेतृत्वका लागि अधिवेशन गरिने भएको छ । सङ्गठनमा तुलनात्मक रूपमा चुनावअघि कमजोर रहेको रास्वपाले चुनावपछि तीव्र गतिमा कर्णालीमा सङ्गठन विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?