२७ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक पुल निर्माण र मर्मतलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार स्थानीय सडक पुल निर्माणका लागि मात्र यस वर्ष तीन सय भन्दा बढी पुल आयोजनामा बजेट विनियोजन गरिएको छ ।
मन्त्रालयका अनुसार आगामी वर्ष इलाम जिल्लाले हेर्ने गरी ७ वटा पुल निर्माण गर्न बजेट विनियोजन भएको छ । जसमा पुवा खोला पुलको बेलीब्रिज समेत समावेश छ ।
संखुवासभा र धनकुटाका २ आयोजनामा बजेट परेको छ । ओखलढुंगा जिल्लाले खर्च गर्ने गरी ६ आयोजनामा बजेट विनियोजन गरिएको छ । उदयरपुरमा २ र झापामा ६ आयोजनामा बजेट विनियोजन गरिएको छ ।
मोरङका मात्र २४ सडक पुल आयोजनाले बजेट पाएका छन् । सुनसरीमा १७ आयोजनामा बजेट परेको छ । सिराहा जिल्लाले खर्च गर्नेगरी २३ आयोजनामा बजेट विनियोजन भएको छ । धनुषाबाट खर्च गर्ने गरी २७ आयोजनामा बजेट विनियोजन भएको छ ।
रौतहटबाट २० आयोजना, दोलखाका ९, रामेछापको १, नुवाकोटका ५ आयोजनामा बजेट विनियोजन भएको विकास कार्यक्रममा उल्लेख छ । चितवनबाट ३, मकवानपुरबाट १२ आयोजनामा रकम विनियोजन भएको छ । भक्तपुरमा ११ पुलमा बजेट विनियोजन भएको छ ।
ललितपुरमा ४ र काठमाडौं जिल्लाबाट खर्च गर्ने गरी २३ आयोजना तथा शीर्षकमा बजेट विनियोजन भएको छ । गोरखामा २ र तनहुँले खर्च गर्ने गरी ४ पुलमा बजेट छुट्याइएको छ । कास्कीबाट २८ पुल निर्माण तथा मर्मतमा बजेट विनियोजन गरिएको छ । बागलुङका ४, रुपन्देहीका ७, कपिलवस्तुमा १ आयोजनालाई बजेट परेको छ ।
पाल्पाबाट ७ आयोजना, प्यूठानबाट ६, दाङबाट ४, बाँकेबाट २२ आयोजनाले बजेट पाएको देखिएको छ । रुकुम पश्चिमबाट ७ आयोजना, जुम्लामा २, सुर्खेतमा ११, बझाङमा १, डोटीमा ६ आयोजनाले बजेट पाएका छन् । अछाममा ४, बैतडीमा २, कन्चनपुरमा १२ आयोजनामा बजेट राखेको छ । स्थानीय पुल निर्माणमा आगामी आर्थिक वर्ष कुल ३ अर्ब ९१ करोड ८७ लाख रुपैयाँ विनियोजन भएको छ ।
आगामी आवमा रणनैतिक सडक पुलहरुको विस्तृत सम्भाव्यता अध्ययनका लागि भन्दै बजेट राखिएको छ । कुल २९ करोड बजेट विनियोजन गरिएको यो शीर्षकमा ३४ कार्यक्रम समावेश छन् । जसमा अधिकांश परामर्श सम्बन्धी कामका लागि बजेट विनियोजन भएको छ । यस शीर्षकमा पूर्व–पश्चिम पर्यटकीय राजमार्गको अध्ययन गर्नेगरी बजेट विनियोजन गरिएको छ । आगामी आवमा उत्तर–दक्षिण पर्यटकीय राजमार्गलाई चार लेन विस्तारको अध्ययन गर्न समेत बजेट राखिएको छ ।
रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसामा कुन कुन आयोजना ?
मन्त्रालयले यस शीर्षकमा ताप्लेजुङ जिल्लालाई ३, इलामलाई ९ आयोजनामा बजेट विनियोजन गरेको छ । धनकुटामा १, ओखलढुंगामा २, उदयपुरमा ७ आयोजनामा बजेट राखिएको छ । झापालाई ४, मोरङलाई २, सुनसरी जिल्लालाई अख्तियारी दिएर २० आयोजनामा बजेट विनियोजन गरिएको छ ।
सिराहामा ३, धनुषामा १४, रौतहटतमा २, दोलखामा ११, रामेछापमा ४, नुवाकोटमा ६, चितवनमा ४ र मकवानपुरमा तीन आयोजनालाई बजेट राखिएको छ । भक्तपुरलाई ७, ललितपुरलाई ११ र काठमाडौंलाई १६ आयोजनामा बजेट राखिएको छ । काठमाडौंमा बबरमहल आकाशे पुल निर्माणको योजना छ ।
लमजुङमा अख्तियारी दिएर ११, तनहुँमा १, कास्कीमा ८, मुस्ताङमा १०, बागलुङमा १, रुपन्देहीमा २, कपिलवस्तुमा १, पाल्पामा ६ आयोजनामा बजेट राखिएको छ । अर्घाखाँचीमा १, रोल्पामा ५, प्यूठानमा ३, दाङमा २, बाँकेमा १०, रुकुम पश्चिममा ३ र जुम्लामा अख्तियारी दिएर २१ आयोजना समावेश गरिएको छ ।
हुम्लामा १६ र जाजरकोटमा ७ आयोजनामा बजेट राखिएको छ । सुर्खेतमा १२, बझाङमा २, डोटीमा १०, अछाममा ५, दार्चुलामा २, बैतडीमा ३, कंचनपुरमा ५ आयोजनामा बजेट राखिएको छ । यस शीर्षकमा कुल ३ अर्ब ७६ करोड ४५ लाख बजेट विनियोजन भएको छ ।
प्रतिक्रिया 4