0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

गण्डकी विश्वविद्यालय रजिस्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त

डा. भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) का पूर्व कार्यकारी निर्देशक थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते २०:१२

२७ जेठ, पोखरा । गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएका छन् । उपकुलपति डा. कृष्ण अधिकारीको संयोजकत्वमा गठित समितिको सिफारिसमा परेका ३ जना प्रतिस्पर्धीबाट भण्डारीको नाम छनोट भएका हुन् । कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले भण्डारीलाई बुधबार नियुक्त गरे ।

भण्डारीसहित डा. श्रीकान्त खतिवडा र राजेश ठकुराठीको नाम समितिले सिफारिस गरेको थियो ।

डा. भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) का पूर्व कार्यकारी निर्देशक थिए । हाल सेन्टर फर इन्भाइरोन्मेन्टल एन्ड सस्टेनेबल एग्रिकल्चरल रिसर्च (सिजार)का कार्यकारी निर्देशक हुन् ।

नेपाल र जर्मनीमा गरी डेढ दशकभन्दा बढी समय शैक्षिक नेतृत्व, अनुसन्धान व्यवस्थापन, विज्ञान–प्रविधि नीति निर्माण तथा संस्थागत विकासमा काम गरेको अनुभव उनीसँग छ।

जर्मनीको जस्टस लिबिग विश्वविद्यालयबाट प्राकृतिक विज्ञानमा विद्यावारिधि (पीएचडी) गरेका भण्डारीले इरास्मस मुन्डस छात्रवृत्तिमा जर्मनी, नर्वे र फ्रान्सका विश्वविद्यालयबाट एडभान्स्ड स्पेक्ट्रोस्कोपी इन केमेस्ट्रीमा स्नातकोत्तर गरेका हुन् ।

पोखरा विश्वविद्यालयबाट फार्मेसी विषयमा स्नातक गरेका उनले शिक्षण, अनुसन्धान र प्रशासनलाई सँगसँगै अगाडि बढाएका छन् ।

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट जिपास्टको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । पछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले जिपास्ट नै खारेज गरिदिएको थियो ।

जिपास्टमा उनले संस्थाको प्रशासनिक संरचना निर्माण, कर्मचारी भर्ना प्रणाली विकास, वैज्ञानिक प्रयोगशाला स्थापना तथा गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि नीतिको मस्यौदा निर्माणमा नेतृत्व गरेका थिए ।

यसअघि जर्मनीको ट्रान्समिट जीएमबीएचमा परियोजना व्यवस्थापकका रूपमा कार्यरत रहँदा उनले विश्वविद्यालय र उद्योगबीचको सहकार्यमा आधारित जैवविश्लेषणात्मक अनुसन्धान परियोजनाहरू सञ्चालन गरेका थिए । अनुसन्धान, बजेट व्यवस्थापन, प्रविधि हस्तान्तरण, अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य तथा वैज्ञानिक जनशक्ति विकासमा उनले भूमिका निर्वाह गरेका थिए।

अनुसन्धानका क्षेत्रमा डा. भण्डारी विशेषगरी औषधि विज्ञान, विश्लेषणात्मक रसायनशास्त्र, खाद्य सुरक्षा, मेटाबोलोमिक्स, लिपिडोमिक्स, प्रोटियोमिक्स तथा उच्चस्तरीय मास स्पेक्ट्रोमेट्री इमेजिङका विज्ञ मानिन्छन् । वनस्पति, खाद्यान्न, औषधीय वनस्पति, रोगजन्य जीवाणु तथा मानव स्वास्थ्यसँग सम्बन्धित सूक्ष्म रासायनिक तत्वहरूको अध्ययनमा उनले अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान गरेका छन् ।

उनका ४० भन्दा बढी अनुसन्धान लेख साइन्स, साइन्टिफिक रिपोर्ट्स, एनालिटिकल केमेस्ट्री, प्लान्ट जर्नल, एनालिटिकल एन्ड बायोएनालिटिकल केमेस्ट्री लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनले खाद्य सुरक्षा, कफीमा क्याफिनको मात्रा, बेसारमा कर्कुमिन विश्लेषण, औषधीय वनस्पतिको रासायनिक अध्ययन तथा जैविक नमूनाको उच्चस्तरीय विश्लेषणसम्बन्धी अनुसन्धानको नेतृत्व गरेका छन् ।

हाल उनी त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यावारिधि तहका अनुसन्धानार्थीहरूको सह–सुपरिवेक्षकका रूपमा समेत कार्यरत थिए ।

विश्वविद्यालय प्रशासन, अनुसन्धान व्यवस्थापन, स्रोत परिचालन, नीति निर्माण तथा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमा अनुभव हासिल गरेका डा. भण्डारीको नियुक्तिले गण्डकी विश्वविद्यालयको शैक्षिक तथा अनुसन्धान क्षमतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

विश्वविद्यालयको दैनिक प्रशासन, आर्थिक व्यवस्थापन, कर्मचारी प्रशासन, निर्णय कार्यान्वयन तथा शैक्षिक र प्रशासनिक निकायबीच समन्वय गर्ने जिम्मेवारी रजिस्ट्रारको छ । यसअघि डा. कैलाश तिमिल्सिनाले उक्त जिम्मेवारीमा थिए । रिक्त पदमा नियुक्तिका लागि विश्वविद्यालयले २०८२ चैत २६ गते आवेदन आह्वान गर्दै छनोट प्रक्रिया सुरु गरेको थियो । अब अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमा अनुभव बटुलेका डा. भण्डारीले विश्वविद्यालयको प्रशासनिक नेतृत्व सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?