News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलले अनुमतिविना सञ्चालित बालुवाटारको ‘मारिया हस्पिटल’ लाई सिलबन्दी गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
- काउन्सिलले मापदण्ड पूरा नगरी काम गर्ने तीन चिनियाँ चिकित्सकको अस्थायी दर्ता निलम्बन गर्दै आचारसंहिता उल्लङ्घन गर्ने नेपाली चिकित्सकसँग स्पष्टीकरण सोधेको छ ।
- भिसा सर्तविपरीत गतिविधिमा संलग्न विदेशी नागरिकहरूको श्रम इजाजत र गैर–पर्यटकीय भिसा खारेज गर्न काउन्सिलले स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पठाएको छ ।
२८ जेठ, काठमाडौं । बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रालि) लाई गैरकानुनी रूपमा काम गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको छ । बिना अनुमति अस्पताल सञ्चालन भएको तथा विदेशी चिकित्सकहरूबाट अवैध रूपमा स्वास्थ्य परीक्षण गराइएको भेटिएपछि कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । काउन्सिलको टोली १ जेठमा स्थलगत निरीक्षण गरेको थियो ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार १८ जेठमा बसेको पूर्ण बैठकले आवश्यक अनुमति तथा क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न तीन चिनियाँ नागरिकको अस्थायी दर्ता (एफएनडी) तत्कालका लागि निलम्बन गरिएको छ । डा. उ सिएनलिन, डा. चेन सिएलिन र लिउ जिकिनको अस्थायी दर्ता निलम्बन गरिएको हो ।
यस्तै, संस्थाको बोर्डमा नाम राखेर काउन्सिलको आचारसंहिता उल्लंघन गरेको आरोपमा संलग्न नेपाली चिकित्सकहरूलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।
स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालन जानकारी दिर्दै तत्काल भौतिक रूपमा बन्द (सिलबन्दी) गर्न तथा सञ्चालकहरूमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरिएको डा. पाण्डेले बताए ।
त्यसैगरी, भिसा सर्तविपरीत गतिविधिमा संलग्न विदेशी नागरिकहरूको गैर–पर्यटकीय भिसा र श्रम इजाजत खारेज गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विस्तृत प्रतिवेदन पठाइएको काउन्सिलले जनाएको छ ।
काउन्सिलले बिना अनुमति सञ्चालन भएका स्वास्थ्य संस्था तथा दर्ता नभई लुकिछिपी बिरामी जाँच्ने चिकित्सकहरूको गतिविधिबारे जानकारी भएमा प्रमाणसहित तत्काल काउन्सिल वा स्थानीय प्रशासनमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने पनि काउन्सिलले स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4