News Summary
Generated by OK AI. Editorially reviewed.- पुस्तौँदेखिको सीमा विवाद मिलाउन एक व्यक्तिले आफ्नै घर छिमेकीको जमीनमा परेको हल्ला फैलाएर नापजाँचको वातावरण सिर्जना गरे ।
- जनप्रतिनिधि र अमिनको उपस्थितिमा गरिएको नापजाँचबाट छिमेकीकै संरचनाले आफ्नो जमीन मिचेको तथ्य प्रमाणित भएको छ ।
- यस घटनाले वर्षौँको समस्यालाई गुनासोमा मात्र सीमित नगरी सही निर्णय र जुक्तिमार्फत समाधान गर्न सकिन्छ भन्ने पाठ सिकाउँछ ।
म र मेरो छिमेकी बाहिरबाट हेर्दा मिलेरै बसेका जस्ता देखिन्थ्यौँ। हाम्रा घरका धुवाँ एउटै आकाशमा मिसिन्थे, उही घामले हाम्रा आँगन उज्यालो बनाउँथ्यो र उही वर्षाले दुवैलाई भिजाउँथ्यो। तर हाम्रो बीचमा एउटा अदृश्य पर्खाल थियो- सिमानाको पर्खाल।
यो विवाद नयाँ थिएन, न त मेरो पुस्ताबाट सुरु भएको थियो। यो त पुस्तौँदेखि बोकिँदै आएको एउटा अधुरो घाउ थियो। हजुरबुबाले पनि त्यही पीडा बोके, बुबाले पनि त्यही गुनासो दोहोर्याए। उनीहरू सधैँ भन्थे, ‘हाम्रो जमिन मिचिएको छ, हाम्रो अधिकार खोसिएको छ।’
तर ती आवाजहरू प्रायः घरको चार पर्खालभित्रै हराउँथे। कहिले लालपुर्जा सिरानीमुनि राखेर रात बित्थ्यो, कहिले नक्सा भित्तामा टाँसेर मन बुझाइन्थ्यो। कागजमा आफ्नो सिमाना सुरक्षित देखिन्थ्यो, तर वास्तविकतामा त्यो सिमाना अरूकै नियन्त्रणमा थियो। घरभित्र न्यायका कुरा धेरै हुन्थे, तर न्याय खोज्ने साहस भने कमैमा देखिन्थ्यो। म ती सबै दृश्यहरू चुपचाप हेर्दै हुर्किएँ- हजुरबुबाको निराशा, बुबाको आक्रोश र वर्षौँदेखि दोहोरिँदै आएको असन्तोष।
समयसँगै मैले एउटा कुरा बुझ्न थालेँ- घाउ हाम्रो थियो, त्यसैले पीडा पनि हामीलाई नै बढी हुन्थ्यो। जसलाई चोट लागेको छैन, उसले पीडाको गहिराइ कसरी बुझोस्?
एकदिन मैले आफैँलाई प्रश्न गरेँ- मेरो सिमाना मिचिएको छ भनेर म जति दुःखी छु, छिमेकी किन दुःखी होस्? उसको दृष्टिमा त सबै ठिकै छ। जसलाई कुनै खतरा देखिँदैन, उसले समाधान खोज्न किन अग्रसरता देखाओस्?
त्यसपछि मैले एउटा फरक बाटो रोजेँ। मैले गाउँभरि एउटा कुरा फैलाएँ- ‘मे घर त छिमेकीको जग्गामा पो परेको रहेछ।’

यो कुराको मैले धेरै व्याख्या गरिनँ। तर, त्यो एउटा वाक्यले नै परिस्थिति बदलियो। जुन विषय वर्षौँसम्म छिमेकीका लागि सामान्य थियो, त्यही विषय अचानक उसको चिन्ताको केन्द्र बन्यो। उसको परिवार र छोराछोरी सबैले प्रश्न उठाउन थाले- ‘यदि हाम्रो जमिनमा अर्काको घर परेको हो भने त्यसको स्पष्टता आवश्यक छ।’ पहिलोपटक, ऊ पनि सिमानाबारे गम्भीर रूपमा सोच्न बाध्य भयो।
यता मेरो घरमा भने आँधी चल्यो। मलाई गाली गरियो, पागल भनियो, स्वार्थी भनियो। केहीले त मलाई छिमेकीको पक्षमा लागेको आरोप समेत लगाए। तर म मौन रहेँ। किनकि कहिलेकाहीँ सत्यसम्म पुग्न गलत बुझाइको बाटो भएर पनि हिँड्नुपर्छ।
अन्ततः त्यो दिन आयो। छिमेकी स्वयम् जनप्रतिनिधि, भद्रभलाद्मी र अमिनसहित मेरो आँगनमा उपस्थित भयो। वर्षौँदेखि विवादमा रहेको सिमाना नापजाँच सुरु भयो। नापजाँच अगाडि बढ्दै जाँदा एउटा कुरा स्पष्ट हुँदै गयो- सत्य कागजभन्दा ठूलो हुन्छ।
अन्ततः प्रमाणले देखायो कि मेरो घर छिमेकीको जग्गामा थिएन। बरु उल्टै, छिमेकीकै संरचनाको केही भाग मेरो जमिनभित्र परेको रहेछ !
त्यो क्षणमा उसको अनुहारमा देखिएको लज्जा मैले नियालेँ। तर, त्यसमा मलाई कुनै विजयको अनुभूति भएन। किनकि मेरो उद्देश्य उसलाई हराउनु थिएन, सत्यलाई उजागर गर्नु थियो। वर्षौँदेखिको विवाद एकै दिनमा टुङ्गियो। मैले आफ्नो जमिन फिर्ता पाएँ र उसले वास्तविकता स्वीकार गर्यो। तर, त्योभन्दा ठूलो कुरा अरू पनि भयो- हाम्रो बीचको अविश्वासको पर्खाल सधैँका लागि भत्कियो।
त्यसपछि मैले गहिरो रूपमा बुझेँ- मेरो हजुरबुबा र बुबा गलत थिएनन्। उनीहरूको पीडा वास्तविक थियो र उनीहरूको दाबी साँचो थियो। तर केवल सत्य हुनु मात्र पर्याप्त हुँदैन रहेछ; त्यसलाई प्रमाणित गर्ने बाटो पनि आवश्यक पर्दोरहेछ। उनीहरूले घाउ देखे, मैले समाधान खोज्ने प्रयास गरेँ।
अन्ततः मैले आफ्नो जमिन मात्र जोगाइनँ, एउटा गहिरो जीवनपाठ पनि सिकेँ। जीवनमा धेरै मानिसहरू समस्या देखेर रोकिन्छन्। केही मानिसहरू समस्यालाई गुनासोमा मात्र सीमित गर्छन्। तर इतिहास सधैँ तिनैले बदल्छन्, जसले समस्या होइन, समाधान खोज्ने साहस गर्छन्।
किनकि घाउ पुस्तौँसम्म बाँच्न सक्छ, तर एउटा सही उपचारले पुस्तौँको पीडा अन्त्य गर्न सक्छ। त्यसैले वास्तविक बुद्धिमानी समस्या देख्नुमा होइन, समस्या समाधान हुने बाटो पहिल्याउनुमा छ। गुनासोले पुस्ता बित्न सक्छ, तर एउटा सही निर्णयले इतिहास बदल्न सक्छ।
प्रतिक्रिया 4