News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम अधिवेशन २९ जेठमा पोखरामा हुँदैछ ।
- प्रदेश सभापति पदका लागि वर्तमान सभापति राजन गौतम, महामन्त्री नवीन त्रिपाठी, पूर्वमन्त्री हरिशरण आचार्य र नेता माधव कँडेल मुख्य प्रतिस्पर्धी देखिएका छन् ।
- सभापतिको चर्चामा रहेका संघीय सांसद कुमार खड्काले "मेराे कुनै आकांक्षा छैन, म प्रदेश सभामा उम्मेदवार हुने हाे, प्रदेश सभापतिमा हाेइन" भन्नुभयो ।
२८ जेठ, पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम अधिवेशन २९ जेठमा पोखरामा हुँदैछ । अधिवेशनबाट नयाँ प्रदेश नेतृत्व चयन हुने भएकाले सभापति पदको प्रतिस्पर्धा यतिबेला चर्चाको केन्द्रमा छ ।
सभापति पदका लागि वर्तमान सभापति तथा संघीय सांसद राजन गौतम, प्रदेश महामन्त्री नवीन त्रिपाठी, गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिशरण आचार्य र नेता माधव कँडेल मुख्य आकांक्षी छन् ।
साथै डा. हरि कार्की र नेपाली कांग्रेसका पूर्वनेता तथा संघीय सांसद एवं पूर्वमन्त्री कुमार खड्काको नाम पनि सभापतिको सम्भावित उम्मेदवारका रूपमा चर्चा भएको छ ।
नेपाल विद्यार्थी संघबाट राजनीति थालेका खड्कापछि क्षेत्री समाजकाे नेतृत्व गर्दै, जातीय पहिचानसहितकाे संघीयताकाे विराेधमा आन्दाेलन चर्काउँदै राष्ट्रिय अखण्ड पार्टी खाेलेर दाेस्राे संविधान सभामा सांसद तथा मन्त्रीसमेत बनेका खड्का २०७४ काे चुनावअघि कांग्रेसमै फर्केका थिए ।
कांग्रेसबाट गण्डकीमा समानुपातिक सांसद हुँदै मन्त्रीसमेत भएका खड्का कारबाहीमा परेपछि २०८२ काे चुनावअघि रास्वपा छिरेका हुन् ।
उनै खड्कालाई प्रदेश सभापतिकाे आकांक्षीका रूपमा चर्चा गरिएकाे छ । तर, खड्काले आफू आकांक्षी नरहेकाे अनलाइनखबरसँग बताए । ‘साथीहरूले चर्चा गर्नुभएकाे छ । तर, मेराे कुनै आकांक्षा छैन । म प्रदेश सभामा उम्मेदवार हुने हाे । प्रदेश सभापतिमा हाेइन,’ खड्काले भने ।
रास्वपा गण्डकीको नेतृत्वका लागि अहिले ५ जना नेताबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। वर्तमान सभापति गौतम पुनः नेतृत्व दोहोर्याउने तयारीमा छन् भने महामन्त्री त्रिपाठी संगठनमा गरेको कामका आधारमा नेतृत्वमा पुग्नुपर्ने दाबी गरिरहेका छन् ।
पूर्वमन्त्री आचार्यले संघीय र प्रदेश तहको राजनीतिक अनुभवलाई अघि सारेका छन् भने कँडेलले संगठन विस्तार र निर्वाचन अनुभवलाई आफ्नो बलका रूपमा प्रस्तुत गरेका छन् ।
हरिशरण माओवादी सशत्र संघर्ष हुँदै बाबुराम भट्टराई नेतृत्वकाे नयाँ शक्तिबाट गण्डकीकाे सांसद हुँदै ऊर्जा मन्त्रीसमेत बनेका थिए । उनी २०७९ काे चुनावअघि रास्वपा छिरेका थिए ।
कडेंल २०७९ काे चुनावमा कास्की-२ मा रास्वपाबाट प्रतिनिधि सभा उम्मेदवार थिए । चुनाव एमालेकी विद्या भट्टराईले चुनाव जिते पनि लाेकप्रिय मत ल्याएर कँडेल पनि चर्चामा आएका थिए ।
हरि कार्की लाैराे अभियान हुँदै रास्वपा प्रवेश गरेका हुन् । वर्तमान सभापति गाैतमले आफू फेरि दाेहाेरिन चाहेकाे, संघीय सांसद र संगठनकाे जिम्मेवारी फरक कुरा भएकाे गाैतमले अनलाइनखबरसँग बताए ।
२९ जेठमा पोखरामा हुने अधिवेशनले गण्डकीमा रास्वपाको आगामी नेतृत्व र संगठनात्मक दिशा तय गर्ने भएकाले पार्टीभित्र यसको विशेष चासोका साथ प्रतीक्षा भइरहेको छ।
प्रतिक्रिया 4