२८ जेठ, काठमाडौं । पाँच लाखभन्दा बढी क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिक भएको नेपाली कांग्रेसले जनाएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बिहीबार राति १२ बजेसम्ममा पाँच लाख ३८ हजार ६२२ जनाले क्रियाशील सदस्यता अद्यावधिक गराएका हुन् ।
उनका अनुसार वडा सभापतिमार्फत पाँच लाख ३८ हजार ६२२ जनाले ‘एनसी आईडी’ (कांग्रेस परिचयपत्र) प्राप्त गरेका छन् ।
उनले एक लाख ४९ हजार ३०९ जनाले वडा सभापतिमार्फत अद्यावधिकका लागि फारम पेश गरेको र सदस्यता अद्यावधिक कार्यको प्रक्रियामा रहेको रहेको पनि बताए । जसअनुसार कांग्रेसका छ लाख ८७ हजार ९३१ जना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिक हुने देखिएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार सात लाख ८२ हजार २०९ सदस्यहरू अद्यावधिकका लागि योग्य थिए ।
व्यवस्थापन समितिले इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी भूभाग, बारा र खोटाङ तथा कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी रहेको अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ ।
संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सञ्चालन भएको सदस्यता अद्यावधिक कार्यमा अधिकांश क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिता रहेको समितिको भनाइ छ ।
समितिले बिहीबार राति १२ बजेसम्मका लागि क्रियाशील सदस्यता अद्यावधिकको समय सीमा तोकेको थियो । कांग्रेसमा नयाँ क्रियाशील सदस्यता वितरण कार्य भने अर्को सूचना जारी नभएसम्मका लागि खुल्ला रहने कार्यवाहक मुख्य सचिव दुलालले जानकारी दिए ।
प्रतिक्रिया 4