News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा हवाईमार्गको अतिरिक्त भारतबाट निजी तथा सार्वजनिक सवारीसाधन मार्फत सडकमार्गबाट आउने पर्यटकहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ ।
- स्थलमार्गबाट प्रवेश गर्ने भारतीय पर्यटकहरू सीमावर्ती क्षेत्रदेखि गन्तव्यसम्मै बस्ने र खर्च गर्ने हुँदा स्थानीय अर्थतन्त्र चलायमान बनेको छ ।
- पर्यटकीय क्षेत्रमा बढ्दो चाप व्यवस्थापन गर्न सीमा नाकामा डिजिटल अनुमति प्रणाली र पालिका तहमा पार्किङ तथा यातायात व्यवस्थापन आवश्यक देखिएको छ ।
केही दिनअघि काठमाडौंको सडकमा हिँडिरहँदा भारतीय नम्बर प्लेटको जिप रोकियो । भित्र एउटा परिवार थियो । झ्याल खोलेर उनीहरूले सोधे– ‘बुटवल कसरी जाने ?’
साधारण प्रश्न थियो । तर, त्यस प्रश्नले एउटा गहिरो संकेत बोकेको थियो । नेपालमा अब पर्यटन हवाईमार्गको मात्र कथा होइन, सडकमार्गबाट फैलिँदै गएको नयाँ यथार्थ हो ।
वर्षौंसम्म हामीले ‘ड्राइभ टुरिज्म’ को कुरा गर्यौं । नीति, योजना, सेमिनार र भाषणहरूमा भारतबाट निजी गाडी, मोटरसाइकल, धार्मिक बस र रोड ट्रिप संस्कृति नेपाली पर्यटनकै भविष्यका रूपमा प्रस्तुत गरियो ।
त्यो भविष्य आज कुनै दूर सपना होइन, सडकको दैनिक दृश्य बनेको छ । भैरहवा–सुनौलीदेखि काँकडभिट्टा–पानीट्यांकीसम्म, वीरगञ्जदेखि नेपालगञ्जसम्म, भारतीय नम्बर प्लेटका सवारीसाधन आजभोलि नेपालका राजमार्ग, पहाडी सडक र पर्यटकीय गन्तव्यमा नियमित देखिन्छन् ।
तर, प्रश्न बदलिएको छ– ‘अब आउँछन् कि आउँदैनन् ?’ होइन, अब ‘हामी तयार छौं कि छैनौं ?’
नेपाल भारतका लागि केवल ठूलो पर्यटन बजार होइन, सबैभन्दा स्वाभाविक बजार हो । खुला सीमा, धार्मिक सम्बन्ध, सांस्कृतिक निकटता र पारिवारिक नाता–सम्बन्धले नेपाललाई विदेशभन्दा पनि परिचित गन्तव्य बनाइदिएको छ ।
नयाँदिल्ली, लखनऊ, पटना, जयपुर जस्ता सहरबाट केही घण्टाको दुरीमै नेपाल पुगिन्छ । हवाई जहाज टिकट, भिसा झन्झट वा लामो अन्तर्राष्ट्रिय यात्रा चाहिँदैन । यही कारण भारतबाट आउने पर्यटकको प्रकृति पनि फरक छ ।
कोही तीर्थयात्री, कोही पारिवारिक यात्रु, कोही मोटरसाइकल यात्रामा निस्किएका युवा, त कोही गर्मी छल्न आउने परिवार ।
जलवायु परिवर्तनले यो प्रवृत्तिलाई अझ बलियो बनाइरहेको छ । जब भारतका सहरहरूमा गर्मी ४५ डिग्रीभन्दा माथि पुग्छ, नेपालका पहाडहरू केवल सुन्दर गन्तव्य होइन, राहतको उत्तम विकल्प बन्छन् । पोखरा, बन्दीपुर, धुलिखेल, नगरकोट, तानसेन वा इलाम अब केवल पर्यटन नक्साका हिस्सामात्र होइनन्, भारतीय पर्यटकका लागि यात्रा गन्तव्य बन्न थालेका छन् ।

तर, हाम्रो बुझाइ अझै पुरानै ढाँचामा अडिएको छ । तथ्यांकले देखाउँछ, भारत नेपालको सबैभन्दा ठूलो पर्यटन स्रोत हो । तर, स्थलमार्गबाट आउने वास्तविक पर्यटक संख्या परम्परागत प्रणालीले पूर्णरूपमा समेट्न सक्दैन । सीमानाका वीरगञ्ज, भैरहवा, काँकडभिट्टा, नेपालगञ्ज, महेन्द्रनगरबाट दैनिक हजारौं मानिस प्रवेश गर्छन् । उनीहरू केवल काठमाडौं वा पोखरा पुग्दैनन्, बाटोमै रोकिन्छन्, स्थानीय बजारमा खर्च गर्छन्, खाना खान्छन्, पेट्रोल हाल्छन्, होटलमा बस्छन् । यो फैलिएको अर्थतन्त्र हाम्रो पुरानो केन्द्रित सोचमा कमै देखिन्छ ।
यहीँबाट अर्को वास्तविकता सुरु हुन्छ– चुनौती ।
आज पोखरा, काठमाडौं, लुम्बिनी वा बन्दीपुरमा ट्राफिक, पार्किङ, फोहोर व्यवस्थापन र व्यावहारिक नियमपालन जस्ता मुद्दा सतहमा आउन थालेका छन् । केही स्थानमा स्थानीय र आगन्तुकबीच असन्तुलन देखिन्छ । तर समस्या पर्यटक होइन, प्रणाली हो । हामीले ठूलो बजार चाह्यौं, तर त्यसलाई सम्हाल्ने संरचना समयमै बनायौं कि बनाएनौं भन्ने प्रश्न महत्त्वपूर्ण हो ।
दुर्भाग्य के छ भने, हामी कहिले आगन्तुकलाई अवसरका रूपमा मात्र हेर्छौं, कहिले समस्यामात्र । तर, भारतीय पर्यटक एकै किसिमका समूह होइनन् । यो एउटा महासागर हो । तीर्थयात्री पनि छन्, एड्भेन्चर राइडर पनि छन्, मध्यम वर्गीय परिवार पनि छन्, र केही असंवेदनशील व्यवहार गर्ने पनि छन् । महासागर देखेर डराउने होइन, त्यसलाई व्यवस्थापन गर्ने क्षमता बनाउने हो ।
विडम्बना अझ गहिरो छ । हामीले वर्षौंसम्म रोड टुरिज्मको कुरा गर्यौं, सीमा पार यात्रा बढाउन आग्रह गर्यौं, धार्मिक सर्किटको योजना बनायौं । अहिले त्यो वास्तविकतामा बदलिँदा हामी व्यवस्थापनमा अलमलिएका छौं । सफल पर्यटन अर्थतन्त्रले आगन्तुक घटाएर होइन, प्रणाली सुधार गरेर प्रतिक्रिया दिन्छ ।
हाल सरकारले सीमा व्यवस्थापन, डिजिटल अनुमति प्रणाली, समन्वयात्मक नीति र सुविधा केन्द्रहरूको कुरा अघि सारेको छ । नेपालगञ्ज, भैरहवा, झापाजस्ता स्थानमा सीमा–पर्यटन समन्वयका पहल सुरु भएका छन् । यो सकारात्मक संकेत हो । योजनामात्र पर्याप्त हुँदैनन्, कार्यान्वयन निरन्तरता नै निर्णायक हुन्छ ।

अब सोच बदल्नुपर्ने समय आएको छ । सीमा केवल चेकप्वाइन्ट होइन, पहिलो स्वागतद्वार हो । आज धेरै यात्रुको नेपाल अनुभव पहिलो पटक अध्यागमन कार्यालयमै सुरु हुन्छ । त्यहीँ अनुभव राम्रो वा खराब बन्ने हो । यदि भैरहवा वा काँकडभिट्टामा सफा, व्यवस्थित, सूचना–सम्पन्न, डिजिटल र सहज प्रवेश बनाइयो भने यात्राको सम्पूर्ण धारणा बदलिन्छ ।
नेपाललाई चाहिएको कुरा अब केवल पर्यटक होइन, ‘सूचना र व्यवस्थापन’ हो । कुन बाटो लोकप्रिय बन्दैछ, कहाँ कति खर्च भइरहेको छ, कुन गन्तव्यमा कति समय बसाइ बढ्दैछ, यी आँकडाविना नीति अधुरो हुन्छ । डिजिटल ट्राभल सूचना प्रणाली, रुट गाइड, आपतकालीन सेवा र स्थानीय नियमबारे स्पष्ट जानकारी अब आधारभूत आवश्यकता हो ।
त्यस्तै पालिका र स्थानीय तहले पार्किङ, ट्राफिक व्यवस्थापन, सार्वजनिक शौचालय, विश्राम स्थल र सूचना केन्द्रलाई विकास योजनाको अङ्ग बनाउनुपर्छ । सीमावर्ती सहरलाई केवल ‘ट्रान्जिट’ होइन, ‘डेस्टिनेसन’ बनाउने सोच आवश्यक छ ।
वीरगञ्जलाई जनकपुर–काठमाडौं सर्किटसँग जोड्ने, भैरहवालाई लुम्बिनी–तानसेन–पोखरा प्रवेशद्वार बनाउने, नेपालगञ्जलाई बर्दिया–रारा मार्गको केन्द्र बनाउने, काँकडभिट्टालाई इलाम–पूर्वी पहाडको प्रवेश बिन्दु बनाउने ।
नेपालमा पर्यटनले आगमन बढाउने मात्र होइन, बसाइ लम्ब्याउने र खर्च बढाउने लक्ष्य राखेको छ । स्थलमार्ग पर्यटनले यो लक्ष्य कम लागतमा हासिल गर्न सक्छ, किनभने बजार पहिले नै तयार छ ।
भविष्यको तस्वीर स्पष्ट छ । लखनऊबाट एसयूभी चलाएर आउने परिवार, पुनाबाट मोटरसाइकल यात्रामा निस्किएका युवा, बनारसबाट तीर्थ बस चढ्ने समूह वा ४५ डिग्री गर्मीबाट राहत खोज्दै पहाड पस्ने यात्रु– यी सबै अबको नेपाल हुन् ।
उनीहरू आउँछन् कि आउँदैनन् भन्ने होइन, जड प्रश्न हामी उनीहरूलाई कसरी व्यवस्थापन गर्छौं भन्ने हो । सीमा पार गर्ने बाटो रोक्ने होइन, व्यवस्थित गर्ने हो । पर्यटकलाई निर्देशित गर्ने हो । र, यात्रालाई केवल आवागमन होइन, अनुभव बनाउने हो ।
यदि हामीले यो सन्तुलन मिलाउन सक्यौं भने स्थलमार्ग पर्यटन नेपालका लागि केवल आर्थिक अवसर होइन, सबैभन्दा समावेशी, दिगो र व्यावहारिक पर्यटन भविष्य बन्न सक्छ ।
प्रतिक्रिया 4