२९ जेठ, मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट सिर्जित पार्टीभित्रको तिक्तता हटाउन बृहत् एकता जरुरी रहेको बताएका छन् ।
गिरिजाप्रसाद कोइराला लेबर फाउण्डेशनद्वारा शुक्रबार विराटनगरमा आयोजित श्रमिकलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना तालिमको उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
यस्तै उनले पार्टीलाई एकीकृत र संगठित बनाउन आफू लागिपरेको पनि बताए । नेपाली कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताउँदै उनले आफू त्यसका लागि निरन्तर प्रयासरत् रहेको पनि दाबी गरे ।
‘अहिले सङ्घीय संसद्मा सङ्ख्यात्मक रूपमा कांग्रेस कमजोर अवस्थामा रहेकाले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प छैन,’ उनले भने ।
पार्टीमा आएको विवाद समाधानका लागि वर्तमान नेतृत्वले सबैसँग वार्ता र छलफल गरेर समाधान खोज्नुपर्ने उनले बताए । ‘पार्टीमा के कारणले विवाद आयो ? त्यो विषयमा नेतृत्व तहले सबैसँग बसेर वार्ता एवं छलफलबाट समाधान खोज्नु जरुरी छ,’ उनले भने । –रासस
प्रतिक्रिया 4