+
+
Shares

सडक सुविधाले गुलजार तुम्बेवा (तस्वीरहरू)

पहाडका घुम्तीहरू कालोपत्रेले आकर्षक देखिएका छन् । गाउँबाट सहर जान र गाउँका विभिन्न ठाउँ पुग्न सहज भएको छ । सडक सुविधाले दुर्गमको मानक विस्तारै सुविधायुक्त परिणत हुँदै गएको छ ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ असार ३ गते ८:००

३ असार, मौवा (पाँचथर) । तमोर करिडोरको लखुवादोभानदेखि तुम्बेवा गाउँपालिकाको मौवा बजारसम्मको सडक कालोपत्रे भएपछि यो क्षेत्रका बासिन्दाले सुविधा पाएका छन् । गाउँपालिकाको पुछारमा पर्ने तमोर नदी किनारमा फराकिलो कालोपत्रे सडक बनेको छ । यही सडकबाट विभिन्न गाउँ हुँदै गाउँपालिका केन्द्र मौवाको बजार क्षेत्रसम्मका सडक कालोपत्रे र ढलाई गरेर चिटिक्क बनाइएको छ ।

पहाडका घुम्तीहरू कालोपत्रेले आकर्षक देखिएका छन् । गाउँबाट सहर जान र गाउँका विभिन्न ठाउँ पुग्न सहज भएको छ । सडक सुविधाले दुर्गमको मानक विस्तारै सुविधायुक्त परिणत हुँदै गएको छ ।

कोशी प्रदेश सरकारको पूर्वाधार कार्यालय पाँचथरले तमोर करिडोरदेखि १५ किलोमिटर सडक कालोपत्रे गरेको हो । ‘निर्माण व्यवसायीले सम्झौता भएको मितिभन्दा एक महिना अगाडि नै सकिदिनु भयो । यसले गाउँलाई सुविधा दियो भने म्याद नै नथपिकन पनि काम सकिन्छ भन्ने उदाहरण पनि भयो,’ पूर्वाधार कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र कुमार सिंहले भने, ‘पालिका केन्द्रसम्म कालोपत्रे सडक पुर्‍याउने प्रदेश सरकारको लक्ष अनुरूप काम भएको छ ।’

५२ करोड ७३ लाख ३७ हजार रुपैयाँ खर्चिएर यो सडक कालोपत्रे गरिएको हो । खरिढुङ्गा/गोल्मेश्वर जेभी भक्तपुरसँग २०७० चैत २१ गते ठेक्का सम्झौता भएको थियो ।

लखुवा दोभान–मौवा सडक कालोपत्रे र तमोर करिडोरका सडकका कारण फिदिम र तराई नजिकिएका छन् । ‘फिदिम हिँडेर दुई दिनमा पुग्थ्यौँ । धरानलाई पनि उत्तिकै लाग्थ्यो । कच्ची सडक आएपछि सुखदु:ख गरेर गइन्थ्यो । अहिले त सरर…,’ आङ्नाका मचिन्द्र बहादुर तामाङले भने, ‘फिदिम, धरान दुई घण्टामा पुगिन्छ ।’

तमोर आसपासका क्षेत्रको काया बदल्न सफल भएको तमोर करिडोरले तुम्बेवा गाउँपालिकाको तल्लो क्षेत्रलाई समेट्छ ।

गाउँपालिका अध्यक्ष बाबुराम खड्का भन्छन्, ‘सडकले दैनिक जीवनमा सुविधा थपिएको छ । गाउँका उत्पादन विक्री वितरण गर्न सहज भएको छ । विगतमा पछि परेको गाउँपालिका विकास निर्माणले विस्तारै माथि उठ्दै छ ।’

सडक सुविधा विस्तार भए पनि बसाइँ सराइँ कसरी रोक्ने भन्ने चुनौती कायम छ । पाँच वर्षमा तुम्बेवा गाउँपालिकामा ७०४ परिवारका १ हजार ९५५ जना बसाइँ सरेको तथ्यांक छ ।

 

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?