३ असार, काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्यामा दोषी ठहर भएका माओवादी पूर्वलडाकु गोविन्द बहादुर बटाला डिल्लीबजार कारागार चलान भएका छन् ।
घटनामा सर्वोच्च अदालतले १० वर्ष कैद सजायँ सुनाएपछि उनी आज आफैं अदालत उपस्थित भएका थिए । लगत्तै उनलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार लगिएको हो ।
नेपाली कम्युनिस्ट पार्टीका नेता हिमाल शर्माले बटालालाई डिल्लीबजार कारागार पुर्याएर फर्किएको जानकारी दिएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चकै सफाइ दिने फैसला उल्ट्याउँदै बटालालाई १० वर्षको कैद सजाय गत जेठ २८ गते सुनाएको थियो ।
तत्कालीन माओवादी लडाकुका ब्रिगेड कमाण्डर रहेका बटलामाथि रामहरिलाई अपहरणपछि हत्या गरी नारायणी नदीमा फ्याँकेको आरोप छ ।
१८ वर्षअघिको घटना
२०६२/६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएका थिए । माओवादीका तत्कालीन जनमुक्ती सेना विभिन्न शिविरमा केन्द्रित हुन थालेका थिए ।
चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो ।
१४ चैत, २०६४ मा सम्पर्क कार्यालयमा १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो । घटनाको छानविनका लागि भन्दै बटाला सहितको टोलीले केशव अधिकारी, गंगाराम थापा र रामहरी श्रेष्ठलाई अपहरण गरी चितवन लगेका थिए ।
तत्कालीन समयमा चितवनमा स्थापना गरिएको तेस्रो डिभिजनका ब्रिगेड कमाण्डर बटालाले सोधपुछ गर्दा रामहरिले आफूसँग नियन्त्रणमा लिइएका केशव अधिकारी र गंगाराम थापाको नाम पोलेका थिए ।
गोविन्द बटालाको दाबी अनुसार, २०६५ साल वैशाख ३१ गते विहान ‘चोरीको रहस्य किन खोलिस् ?’ भन्दै रामहरि श्रेष्ठलाई केशव अधिकारी र गंगाराम थापाले कुटपिट गरी मरणासन्न अवस्थामा पुर्याएका थिए ।
शव नारायणीमा
उनलाई उपचारका लागि अस्पताल लैजान खोज्दा बाटोमा मृत्यु भएको थियो । उनको लास गोविन्दबहादुर बटालाले नारायणी नदी फालेको भनी तत्कालीन तेस्रो डिभिजनले ३ जेठ, २०६५ मा प्रहरीमा पत्र पठाएको थियो ।
रामहरिकी पत्नी रमिलाले बटाला नेतृत्वको माओवादी कार्यकर्ताको टोलीले ‘सानो काम छ भनी कब्जामा लिएको’ भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन् । उनले जाहेरीमा कालीबहादुर खाम र गोविन्दबहादुर बटालामाथि घटनामा संलग्न रहेको किटानी गरेकी थिइन् ।
गोविन्दबहादुरले मरणासन्न अवस्थामा रहेका रामहरिलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा नारायणगढ–मुग्लिन सडकको भालुढुंगामा मृत्यु भएको दावी गरेका थिए । घटनामा मुछिएको गंगाराम र केशवले शवलाई तन्नामा राखी ढुंगा हालेर झोलुंगे पुलको बीचबाट नारायणी नदीमा फालेको बटालाले बयानमा खुलाएका थिए ।
पानीमै डुबोस् र नभेटियोस् भन्ने उद्देश्यले उनीहरुले लाशलाई तन्नामा बेरेर त्यसमा ढुंगासमेत राखेको जाँचबुझ समितिको प्रतिवेदनमा उल्लेख छ । खोजबिन गर्दा नभेटिएको शवपछि सड्न लागेको अवस्थामा त्रिशुली किनारमा फेला पर्यो ।
तर चितवनस्थित शिक्षण अस्पतालको अभिलेख अनुसार, श्रेष्ठको मत्यु बटालाले भने जस्तो उपचार गर्न काठमाडौं लैजाने क्रममा नभई अस्पतालको आईसीयूमा भएको थियो । अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीले अचेत अवस्थामा श्रेष्ठलाई चार जनाले अस्पताल पुर्याएको बताएका थिए ।
घटनापछि कालीबहादुर खाम सहित रघु भनिने केशव अधिकारी, एटम भनिने गंगाराम थापा अनि संकल्प भनिने अर्जुन कार्की फरार भए । बटालाले कुटपिटको दोष केशव अधिकारी र गंगाराम थापामाथि थपेर आफू निर्दोष रहेको बयान गरे ।
ज्यान मुद्दामा ३ वर्ष कैद
१७ जेठ, २०६८ मा जिल्ला अदालत चितवनले बटालालाई ३ वर्ष कैद फैसला गर्यो । २० मंसिरमा अर्जुन कार्कीलाई घटनामा संलग्न नभएको तर घटना भएको देख्दादेख्दै मौन बसेको भन्दै २० रुपैयाँ जरिवानाको फैसला सुनाइदियो ।
२० रुपैयाँ जरिवाना तिर्नुपर्ने अर्जुन कार्की जिल्ला अदालतको फैसला स्वीकार गरेर पुनरावेदन गएनन् । ३ वर्ष सजाय पाएका बटालाले आफू निर्दोष भएको दाबी गर्दै पुनरावेदन गरे ।
कार्की र बटाला दुवैलाई कम सजाय भएको भनी सरकारी वकिल कार्यालय पनि पुनरावेदनमा गयो । शव गाडीमा राखी गायब गर्ने काममा मतियार भएको भन्दै कार्कीमाथि पनि सजाय हुनुपर्ने सरकारी वकिलको माग थियो ।
पुनरावेदन अदालतले माओवादीको तेस्रो डिभिजनमा नियन्त्रणमा रहेको ठाउँमा कुटपीट भएको ठहर गर्यो । पुनरावेदन अदालतले बटालालाई ठहर भएको ३ वर्ष कैद सदर गर्यो ।
विवादास्पद सफाइ
साउन २०७७ मा सर्वोच्च अदालतले बटालालाई प्रत्यक्ष हत्यामा संलग्न नभएको निष्कर्ष सहित सफाइ दियो । न्यायाधीशहरू तेजबहादुर केसी र टंकबहादुर मोक्तानले घटनामा बटाला संलग्न नभएको ठहर गरेका थिए । त्यही इजलासले अर्का आरोपित अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रूपैयाँ जरिवाना गरेको थियो ।
फैसला सार्वजनिक हुनासाथ न्यायाधीशहरुमाथि चौतर्फी प्रश्न उठेको थियो । पत्नी हत्याको आरोप लागेका रञ्जन कोइरालालाई कैद मिनाहा गर्ने सर्वोच्चको फैसलामाथि प्रश्न उठिरहेका बेला बटालाले पनि सफाइ पाएका थिए ।
महान्यायाधिवक्ताको कार्यालयले फैसलाविरुद्ध पुनरावेदनको निवेदन दियो । न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले १५ असोज, २०७७ मा फैसला पुनरावलोकन गर्ने आदेश गरेका थिए ।
त्यसको करिब साढे पाँच वर्षपछि सर्वोच्च अदालतको पूर्ण इजलासले आफ्नै संयुक्त इजलासका साथै पुनरावेदन र जिल्ला अदालतका फैसलाहरू उल्ट्याएर बटालालाई १० वर्षको कैद सजाय तोकेको हो ।
प्रतिक्रिया 4