५ असार, धनकुटा । धनकुटाको पाख्रीबास र महालक्ष्मी नगरपालिकाका तल्लो भेगका किसान खडेरी र फौजी किराको प्रकोपको दोहोरो मारमा परेका छन् । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा फौजी किराको प्रकोप फैलिएको छ । जसले मकैबाली सुकाउनेदेखि पूर्ण रूपमा नष्ट गरिरहेको किसानको गुनासो छ ।
हरियाली देखिनुपर्ने मकैबारी अहिले खडेरीले सुक्दै र किराले खाँदै उजाड बन्दै गएको छ । किसानहरूका अनुसार यसो हुनुको मुख्य कारण अनियमित र न्यून वर्षा हो । समयमा पानी नपरेपछि मकैका बिरुवा कमजोर बनेको र फौजी किराको प्रकोप फैलिएको पाख्रीबास नगरपालिका–५ दियालेका किसान अम्बरबहादुर तामाङ बताउँछन् ।
‘फौजी किरा मकैको पात, डाँठ र विशेषगरी गुबोभित्र पस्ने भएकाले बिरुवा बढ्नै सकेनन् । सुरुमा पातमा साना प्वाल देखिने, त्यसपछि पूरै पात सुक्ने र अन्तत: बोट नै मर्ने समस्या देखिन्छ,’ तामाङले भने ।
उनले करिब १८ रोपनी क्षेत्रफलमा मकै लगाएका थिए । निकै मेहनत गरेर लगाएको मकै अहिले सबै मेहनत खेतबारीमै नष्ट हुने अवस्थामा पुगेको उनले दुखेसो गरे । उनले भने, ‘पानी परिदिए यसो हुने थिए । सबै मकै सुकिसक्यो । त्यसमाथि फौजी किराले भित्रैबाट खाइदियो ।’ अब मकैको बीउ समेत जोगाउन नसकिने अवस्था आएको उनले बताए ।
दियालेकै अर्का किसान हरिबहादुर निरौलाले मकैमा सुत्ला(फल) लाग्ने बेला हुँदा बोट नै नरहने अवस्थामा पुगेका छन् । ‘यो वर्ष त मकै किन लगाएछु भन्ने लागिरहेको छ,’ उनी भन्छन्, ‘बीउसमेत उठ्ने अवस्था रहेन ।’
मकै उत्पादन घटेकामा किसानलाई घाटा मात्र लागेको छैन, आगामी महिनामा खाद्य संकट समेत निम्तिने चिन्ता किसानमा छ । महालक्ष्मी र पाख्रिबास नगरपालिकाका तल्लो क्षेत्रका धेरै परिवार प्रमुख उत्पादन नै मकै हो । मकै नै त्यहाँका किसान परिवारको प्रमुख घरायसी खाद्य सामग्री मानिन्छ ।

यस्तै, गाईवस्तुलाई खुवाउने दाना र घाँसको प्रबन्ध पनि मकैबाटै हुने गरेको किसानहरू बताउँछन् । किसानहरूले अब ढिलाइ नगरी गाउँमै पुगेर प्राविधिक सहायता, विषादी छर्कने अभियान र संयुक्त नियन्त्रण कार्यक्रम चलाउन माग गरेका छन् ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार फौजी किराको नियन्त्रणका लागि पहल भइरहेको जनाएको छ । केन्द्रका प्रमुख नगेन्द्रबहादुर रानामगरले धनकुटामा गत वर्ष जस्तो फौजी किराको समस्या नरहेको जानकारी दिए ।
अहिले धेरै ठाउँमा वर्षा भइरहेकाले समस्या कम हुँदै गएको उनले दाबी गरे । यस्तै फौजी किराको प्रकोप देखिएको क्षेत्रमा विषादी वितरण गरिरहेको र ज्ञान केन्द्रले ठाउँ–ठाउँमा बाली शिविर उपचार कार्यक्रम आयोजना गरेको पनि उनको दाबी छ ।
कतिपय ठाउँमा सीमित जनशक्ति र छिटो फैलिने किराका कारण नियन्त्रण प्रभावकारी बन्न नसकेको हुनसक्ने उनले बताए ।
तस्वीरहरू :




प्रतिक्रिया 4