News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार भएको खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।
- नेदरल्यान्ड्सको जितमा ब्रायन ब्रोबी र कोडी गाक्पोले दुई-दुई गोल तथा क्रिसेन्सियो समरभिलले १ गोल गरे ।
- यो जितसँगै दुई खेलबाट ४ अङ्क जोड्दै नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।
६ असार, काठमाडौं । ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई गोल मदतमा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले पराजित गरेको छ ।
समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ ।
पहिलो हार बेहोरेको स्वीडेन भने ३ अंकसहित समुह एफ को दोस्रो स्थानमा छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा ब्रायन ब्रोबीले सुरुमै दुई गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।
पहिलो खेलमा ट्युनिसियामाथि शानदार जित हात पारेको स्वीडेनले नेदरल्यान्ड्सलाई टक्कर दिने अपेक्षा थियो । तर सुरुमै दुई गोल बेहोरेपछि स्वीडेन दबाबमा परेको थियो ।
बल पोसेसनमामा जम्मा दुई प्रतिशतले पछि परेपनि स्वीडेनले डच भन्दा धेरै सट अन टार्गेटमा हानेको थियो । तर फिनिसिङ भने चुस्त रहन सकेन ।

यस विश्वकपमा पहिलो पटक पहिलो रोजाईँमा खेलेका ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । कोडी गाक्पोले बायाँ भागबाट दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् । मध्य भागमा पाएको बललाई ब्रोबीले तिजानी रेइन्डर्सलाई दिएका थिए । रेइन्डर्सले बायाँ भागमा गाक्पोलाई बल दिए । त्यसपछि गाक्पोको पासमा ब्रोबीले गोल गरेका हुन् ।
यस्तै १७औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् ।
पहिलो खेलमा जापान विरुद्ध वैकल्पिक खेलाडीको रुपमा थोरै समय खेल्न पाएका ब्रोबीले स्वीडेन विरुद्ध पहिलो रोजाईँमा अवसर पाएका थिए । जसमा उनले सुरुवाती दुई गोल गर्दै प्रमाणित गरे ।

दोस्रो हाफमा नेदरल्यान्ड्सले तीन गोल थप्दा गाक्पोले दुई तथा क्रिसेन्सियो समरभिलले १ गोल गरे ।
गाक्पोले दोस्रो हाफको दोस्रो मिनेटमै डुमफ्राइजको गोलमा गोल गर्दे नेदरल्यान्ड्सलाई ३-० को अग्रता दिलाएका थिए । यस्तै ५४औं मिनेटमा समरभिलको पासमा व्यक्तिगत दोस्रो तथा डच टोलीका लागि चौथो गोल गरे ।
चार गोलले पछि परेपनि स्वीडेनले फर्कने प्रयास गरेको थियो । स्वीडेनका एन्थोनी एलांगाले ५९औं मिनेटमा गोल फर्काएका थिए ।
तर त्यसपछि थप गोल गर्न सकेन भने समरभिलले ८९औं मिनेटमा मेम्फिस डिपाएको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ५-१ बनाए ।

नेदरल्यान्ड्सले पहिलो खेलमा जापान विरुद्ध दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा २-२ को बराबरीमा रोकिएको थियो । स्वीडेनमाथि प्रभावशाली जितले डच टोली नकआउट चरणमा पुग्ने लगभग पक्का भएको छ ।
अर्कोतर्फ पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले नै पराजित गरेको स्वीडेन भने नेदरल्यान्ड्ससँग सोही स्कोरमा पराजित हुँदे पहिलो हार बेहोरेको छ ।
समूह एफ अन्तर्गत आइतबार बिहान जापान र ट्युनिसियाबीच खेल हुनेछ । उक्त खेलपछि नकआउट चरण पुग्न कुन टोलीलाई कस्तो समिकरण चाहिन्छ थाहा हुनेछ ।

प्रतिक्रिया 4