+
+
Shares

वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर

उनले यहाँ चरा हेर्न धेरै विदेशी पर्यटक आउने गरेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विगत १३ वर्षदेखि नेचरगाइडका रूपमा कार्यरत कुम ठाकुर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेका छन् ।
  • शुक्लाफाँटा निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात रहेको र यहाँ आन्तरिक पर्यटक बाघ तथा बाह्य पर्यटक चरा हेर्न आउँछन् ।
  • मलेसियाबाट फर्किएर नेचरगाइड बनेका ठाकुरले यस कामबाट मासिक २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए ।

८ असार, महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेका छन्, यहाँका कुम ठाकुर । परिपक्व अनुभव बटुलेका कारण पर्यटकको रोजाइँमा उनी परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीका ३७ बर्षीय ठाकुर ‘नेचरगाइड’ हुन् । ‘सिनियर नेचर गाइड भएकाले शुक्लाफाँटामा पर्यटक लिएर जानेमध्ये अग्रस्थानमै पर्छु’ ठाकुरले भने, ‘विदेशमा पसिना बगाएर दुःख गर्नुभन्दा घर आगँनमै पर्यटकलाई वन्यजन्तु र पर्यावरणसित साक्षात्कार गराउन पाउँदा खुसी छु ।’

नेचरगाइड एसोसिएसन शुक्लाफाँटाको अध्यक्षसमेत रहेका ठाकुर शुक्लाफाँटाबारे निकै जानकार भइसकेका नेचरगाइड हुन् ।

‘२००९ मा मलेसिया गएको तीन वर्षपछि सन् २०१२ को अन्तिमतिर फर्किएर नेचरगाइडको काममा लागेँ’,उनले भने, ‘१३ वर्षदेखि निरन्तर शुक्लाफाँटा निकुञ्जमा नेचरगाइडका रुपमा काम गर्दैछु ।’

सन् २००७ मा नेचरगाइड तालिम लिएका ठाकुरले गर्मीयाममा शुक्लाफाँटामा धेरै वन्यजन्तु सहजै देख्न सकिने बताउँछन् । ‘पर्यटकलाई कुन क्षेत्रमा कुन वन्यजन्तु भेटिन्छ भन्नेबारे थाहा भएअनुरुप नै घुमाउँछु’, उनले भने, ‘शुक्लाफाँटा निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात छ ।’

उनले यहाँ चरा हेर्न धेरै विदेशी पर्यटक आउने गरेको बताए ।

नेचर गाइडसँगै फोटोग्राफरको समेत काम गरिरहेका ठाकुरले प्रायः शुक्लाफाँटामा पाइने वन्यजन्तुको तस्बिर/भिडियो पनि कैद गरेका छन् । ‘चर्चित फोटोग्राफरदेखि मोडल, कलाकार, भ्लगरलाई यहाँ घुमाएको छु’, उनले भने, ‘चरा हेर्न आउने विदेशी पर्यटक यहाँको माहोलमा रमाइलो मानेर जान्छन् ।’

शुक्लाफाँटाको अवस्था, वस्तुस्थिति र भूगोलबारे जानकार भइसकेका ठाकुरले गर्मी मौसममा महिनामा १० देखि १५ पटक पाटे बाघ देखिने गरेको बताए ।

यहाँ बढी संख्यामा पर्यटक फागुनदेखि जेठ अन्तिमसम्म आउने गरेका छन् । ‘कोभिडपछि केही समय पर्यटक आवागमन प्रभावित भयो । दसैँतिहारका बेला पनि यहाँ अवलोकनका लागि जानेको लर्को हुन्छ । फोटोग्राफर र वर्डवाचरलाई धेरै आउँछन् । चार सय ६५ भन्दा बढी प्रजातिका चराचुरुङ्गी यहाँ छन्’, उनले भने, ‘आन्तरिक पर्यटक बाघ र बाह्य पर्यटक चरा हेर्न बढी रुचाउँछन् । बाह्रसिङ्गे भनेर हेर्न आउने पर्यटकको सङ्ख्या पनि छ ।’

शुक्लाफाँटा जङ्गल कटेजमा कार्यरत ठाकुरले नेचरगाइडको कामबाट मासिक रु २५ देखि ३० आम्दानी हुने गरेको बताए । ‘यहाँ जीप सफारी र जङ्गल वाक मात्रै छ । भविष्यमा थप योजना ल्याउन सके पर्यटक बढी भित्रिन्छन्’, उनले भने, ‘पर्यावरणमा रमाउने बानी परेका पर्यटकका लागि शुक्लाफाँटा उत्कृष्ट गन्तव्य हो ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मुल रहेको मझगाउँ र नयाँ बस्ती क्षेत्रमा मात्रै १०/१२ जना नेचरगाइड भूमिकामा काम गर्छन । ‘जुनियर गाइडको रु एक हजार र चरा हेर्न जाने पर्यटकबाट रु दुई हजारभन्दा माथि आम्दानी हुन्छ’, उनले भने, ‘तीन सय पाँच वर्गकिलोमिटरमा रहेको शुक्लाफाँटामा आहरा प्रजाति प्रशस्त छ । नेचरमा अध्ययन खोज्नेको उचित ठाउँ पनि हो ।’

मुलुकमै ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु र वनस्पति वन्यजन्तु हेर्न मिल्ने भएकाले यहाँ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढिरहेको छ ।

उनले बाघ यहाँको रानीताल, बाबाताल, सालगौडी ताल, चौधर खोला, शिकारी ताल, घाँसे मैदान र बर्कौला क्षेत्रमा बढी देखिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?