९ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विश्वव्यापी नाराअनुसार ‘लेट्स मुभ– यू क्यान डु धिस!’ अभियानसहित मनाइएको ओलम्पिक डे २०२६ को समापन गरेको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को स्थापना दिवस तथा ओलम्पिक डेका अवसरमा ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा मुख्य समारोह आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक डे २०२६ का संयोजक एवं उपाध्यक्ष अशोक रत्न बज्राचार्यले कार्यक्रम सफल बनाउन गरेको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा आयोजक समितिको स्वागत मन्तव्यपछि महासचिव राजीव श्रेष्ठले धारणा राखेका थिए । अध्यक्ष श्रेष्ठले राष्ट्रिय झण्डा फहराएका थिए भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक बज्राचार्यले ओलम्पिक झण्डा फहराएका थिए । यस अवसरमा आईओसी अध्यक्ष किर्स्टी कोभेन्ट्रीको ओलम्पिक डे सन्देशसमेत वाचन गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले ओलम्पिक दिवसको महत्व र खेलमार्फत एकता, मित्रता तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा खेलको भूमिकाबारे प्रकाश पारे । त्यसपछि एक ओलम्पियनलाई प्रतीकात्मक रूपमा ओलम्पिक मशाल हस्तान्तरण गर्दै ओलम्पिक डे र्यालीको औपचारिक शुभारम्भ गरिएको थियो ।
कार्यक्रम संयोजक अशोक रत्न बज्राचार्यले राष्ट्रिय खेल संघ, शैक्षिक संस्था, सुरक्षा निकाय, स्वयंसेवक तथा सहभागीहरूको सक्रिय सहयोगका कारण कार्यक्रम सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरे ।
असार ४ देखि ९ गते (जुन १८–२३) सम्म देशभर विभिन्न राष्ट्रिय खेल संघ, विद्यालय, कलेज, प्रि-स्कुल, सामुदायिक संस्था, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । खेल प्रदर्शन, र्याली, फिटनेस कार्यक्रम, शैक्षिक सत्र, जनचेतनामूलक अभियान तथा सामुदायिक सहभागितामूलक गतिविधिहरूमार्फत ओलम्पिक अभियानलाई देशव्यापी बनाइएको थियो ।
ओलम्पिक डे २०२६ को सफल आयोजनाले उत्कृष्टता, मित्रता र सम्मानका ओलम्पिक मूल्यलाई प्रवर्द्धन गर्दै खेलमार्फत सबै उमेर समूहका मानिसलाई सक्रिय र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने नेपालको प्रतिबद्धतालाई पुनः उजागर गरेको एनओसीले जनाएको छ ।

प्रतिक्रिया 4