१९ असार, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक बोलाएका छन् ।
उनले निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेताहरूसँग छलफलका लागि समूहको बैठक बोलाएका हुन् ।
बैठक गल्फुटारस्थित खड्का निवासमा शुक्रबार दिउँसो २ बजे बस्ने एक पूर्वपदाधिकारीको सचिवालयले जानकारी दिएको छ ।
स्रोतका अनुसार बैठकमा समूहले सम्पन्न गरेको प्रदेशस्तरीय भेलाको समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ ।
गल्फुटार बैठकमा खड्काले नेतृत्व गरेको समूहको राष्ट्रिय भेलाबारे पनि छलफल हुने बताइएको छ ।
क्रियाशील सदस्यता अद्यावधिकको विपक्षमा रहेको खड्का समूहले अन्तिम भेला १६ असारमा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरेको थिए ।
त्यसअघि विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेलामा कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालालाई प्रमुख अतिथि बनाइएको थियो ।
खड्काले बैठक बोलाउनुअघि कांग्रेस नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच बिहीबार छलफल भएको थियो ।
यसैबीच देउवानिकट नेताहरूले महाराजगञ्जको चुनदेवीमा सम्पर्क कार्यालय स्थापनाको तयारी गरेका छन् ।
सम्पर्क कार्यालयबाट १५ औं महाधिवेशनको तयारीका लागि कामहरू हुने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया 4