१९ असार, काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद मिनासिंह रखालले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई सुझाव दिएकी छिन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएकी हुन् ।
सरकारले तालिम र गोष्ठीको नाममा विनियोजन गरेको बजेट किसानहरूको राहत दिने लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सांसद रखालको भनाइ थियो ।
‘किसान असुरक्षित छन् । यस्तो अवस्थामा तालिक र गोष्ठीमा बजेट खर्च गर्नु भन्दा पीडितलाई राहत, क्षतिपूर्ति, रोकथाम, संरक्षण र किसानहरूको उचित व्यवस्थापनमा बजेट केन्द्रित गर्नु आवश्यक छ । त्यसैले अनुत्पादक प्रशासनिक खर्च घटाई जनतामुखि बजेट विनियोजन गरियोस्,’ उनले भनेकी छिन् ।
उनले साधारण खर्च कटौती गर्न र किसानहरूको हित प्रवर्द्धन हुने क्षेत्रमा बजेट केन्द्रित गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
‘सरकारले साधारण खर्च कटौति गर्ने दाबी गरेको छ । तर यर्थाथमा चालु खर्च अझै उच्च छ । किसानको उत्थानका कार्यक्रमहरू विगतको भन्दा पनि कम प्राथमिकतामा परेका छन । सरकारले रोजगारीको अवसर सृजना हुने गरी कुनैपनि कार्यक्रम ल्याएको छैन,’ उनले भनिन् ।
प्रतिक्रिया 4