१९ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले राष्ट्रिय चिया लिलाम बजार तत्काल स्थापना गर्न सरकारसँग माग गरेकी छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त माग गरेकी हुन् ।
सांसद अर्यालले सरकारले उक्त बजार स्थापना नगरेको कारण नै नेपालको चियाको प्रवर्द्धन अन्तर्राष्ट्रिय बजार हुन नसकेको तथ्य पनि औँल्याइन् ।
उनले चियाँ निर्यात सम्बन्धी उचित कानुनको तर्जुमा गर्न पनि सरकारलाई सचेत गराइन् ।
सांसद अर्यालले भनिन्, ‘नेपालको चिया उद्योगको उचित सञ्चालनका लागि चिया लिलाम बजार स्थापना गर्ने कार्य हालसम्म बाँकी नै छ । यसको विकल्पमा नेपाल चियाले भारतको सिलिगुढी र कलकत्ताका लिलाम बजारमा निर्भर हुनु परेको छ । यसको आफनै लिलाम बजार छैन । राष्ट्रिय चिया लिलाम बजारबिना नेपालको चिया प्रवर्द्धन हुन सक्दैन ।’
सांसद अर्यालले विश्व चिया बजारमा नेपालको उपस्थिति गराउन पनि सरकारले यस सम्बन्धी उचित नीतिहरू निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताइन् ।
प्रतिक्रिया 4