२० असार, काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले नेपालको समुन्नति र विकासका लागि भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषिको आधुनिकीकरण र औद्योगिक विस्तार अपरिहार्य रहेको बताएका छन् ।
‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्ष : ऐतिहासिक अनुभव र नेपालको विकास’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको विकासका प्राथमिकताहरू स्पष्ट रहेको उल्लेख गर्दै नेता महासेठले गुणस्तरीय शिक्षा, स्वास्थ्य र नवीन खोजमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
वातावरण संरक्षण, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, सामाजिक न्याय र नेपालको मौलिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु राज्यको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ छ ।
नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गर्दै उपमहासचिव महासेठले दुई देशबीचको मित्रता आपसी सम्मान, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको उल्लेख गरे ।
‘हामीले युवाहरूका लागि अर्थपूर्ण रोजगारी सिर्जना गर्नुपर्छ र डिजिटल अर्थतन्त्र तथा उदीयमान प्रविधिले सिर्जना गरेका अवसरहरूलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्छ,’ उनले भने, ‘आज नेपाल र चीनबीचको सहकार्य पूर्वाधार विकास, व्यापार, लगानी, पर्यटन, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र जनस्तरको सम्बन्धसम्म विस्तार भएको छ । यो साझेदारीले नेपालको विकासको आकांक्षालाई मात्र नभई क्षेत्रीय कनेक्टिभिटी, स्थिरता र साझा समृद्धिलाई समेत टेवा पुर्याएको छ ।’
विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुने उनको तर्क छ ।
प्रतिक्रिया 4