+
+
Shares

धरान औद्योगिक क्षेत्रमा जग्गा ओगट्नेका लिज सम्झौता रद्द, ५ नयाँ उद्योग थपिए

प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बो
२०८३ असार २० गते १४:०४

१९ असार, सुनसरी । स्थापना भएको आधा शताब्दीपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतको धरान औद्योगिक क्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख हुन पुगेको दाबी गरिएको छ ।

औद्योगिक क्षेत्रमा जमिन ओगटेर निष्क्रिय रहेका उद्योगहरूको लिज सम्झौता रद्द गरी हालै नयाँ उत्पादनमूलक उद्योगहरू भित्र्याइएपछि आत्मनिर्भरतातर्फ उन्मुख हुन पुगेको दाबी गरिएको हो ।

धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीव नारायण बन्जाडेका अनुसार लामो समयसम्म उद्योग सञ्चालन नगरी औधोगिक क्षेत्रको सरकारी जग्गा ओगट्ने उद्योगहरूको लिज सम्झौता रद्द गरि त्यसका ठाउँमा उत्पादनमुखी नयाँ उद्योगहरूलाई स्थान दिइएको छ ।

उनका अनुसार, नेपाल न्यून नेटवर्क प्रा.लि, शुभम वाटर इन्डष्ट्रिज प्रा.लि, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डष्ट्रिज प्रा.लि र कमना मल्टिफोर्ड इन्डष्ट्रिज प्रा.लिको सम्झौता रद्द गरिएको हो ।

उत्पादन नगर्ने तर नाम मात्रका उद्योगहरूलाई हटाएर थपिएका नयाँ उद्योगहरूमा प्रिती भल्भ एण्ड फिटिङ इन्डष्ट्रिज प्रा.लि, जि.डिं स्टिल इण्डष्ट्रिज प्रा.लि., सिद्धि विनायक घरेलु उद्योग, जे.आर. भेन्चर्स प्रा.लि. र सूर्य डायमण्ड इण्डष्ट्रिज प्रा.लि. रहेका छन् ।

तीमध्ये सूर्य डायमण्ड इण्डष्ट्रिजको सम्झौता भने केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको छ ।

उनले जग्गा ओगटेर रहेका उद्योगहरूको सम्पत्ति मूल््याङ्कन गरी कम्पनीको विनियमावली बमोजिम सार्वजनिक प्रस्ताव आह्वान एवं लिज हस्तान्तरण गर्दा ५ वटा नयाँ उत्पादनमूलक उद्योगसँग सम्झौता गरिएको बताए ।

धरान औद्योगिक क्षेत्रमा उत्पादनमुखी उद्योगहरूलाई प्राथमिकता दिएर आयात प्रतिस्थापन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको कार्यालय प्रमुख बञ्जाडेले बताए ।

नयाँ उद्योगहरू थपिएसँगै धरान औद्योगिक क्षेत्रमा हालको आर्थिक मन्दी र लगानी सङ्कुचनको अवस्थामा समेत नयाँ उद्योगमार्फत् ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको हो ।

‘सञ्चालन तयारीका लागि स्थापित भएका नयाँ उद्योगहरू मध्ये प्रीति भल्भले पानीका मिटर तथा फिटिङ सामग्री, जि.डि स्टिल इण्डष्ट्रिजले निर्माण सामग्री, सिद्धि विनायक घरेलु उद्योगले  खाद्यान्न, पशु आहार र जे.आर. भेन्चर्सले  भाँडावर्तन उत्पादन गर्नेछन्,’ उनले भने ।

औद्योगिक क्षेत्रभित्र पहिलेदेखिनै निरन्तर सँचालित उद्योगहरूले प्लास्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य, केमिकल्स, प्रेस, होजियारी, डेरी आदि उत्पादन गर्दै आएका छन् ।

भारतीय सरकारको सहयोगमा २०२९ साल मंसिर २६ गते शिलान्यास भई २०३२ पुष १ गतेदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्र धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको छ ।

हाल धरान औद्योगिक क्षेत्रमा ३५ उद्योग रहेका छन् । तीमध्ये ३० उद्योग सञ्चालनमा छन् पाँच उद्योगहरू स्थापना तथा निर्माणक्रममा छन् । हाल सञ्चालनमा रहेका ३० उद्योगहरूमा करिब एक हजार श्रमिकहरू कार्यरत छन् ।

२०२ रोपनी अर्थात १५ विघा ३ कट्ठामा फैलिएको धरान औद्योगिक क्षेत्रका ती निजि तथा स्वदेशी उद्योगहरूमा करिब २ अर्ब रुपैयाँ लगानी रहेको र सरकारी क्षेत्रको लगानी १६ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

उद्योगहरू सञ्चालन गर्ने भनेर छुट्याइएको धरान औद्योगिक क्षेत्र पूर्ण क्षमतामा संचालन हुन अझै बांकी नै रहेकाले बाँकी खाली स्थानमा पनि उत्पादनमूलक उद्योग भित्राइने प्रक्रिया निरन्तर अघि बढाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?