२१ असार, काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गरिएको गुणस्तरीय ढलान (कङ्क्रिटिङ) को आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ।
सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार भार नियन्त्रणलगायत डिजाइनका मापदण्ड पूर्ण रूपमा पालना भएमा यो ढलान ३० देखि ४० वर्षसम्मै टिक्नेछ। यसबाट वर्षौंदेखि नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती दीर्घकालीन रूपमा अन्त्य हुने विश्वास लिइएको छ।
‘हामीले ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेका छौँ,’ आयोजना निर्देशक ढकालले भने, ‘यदि भार नियन्त्रण भयो र डिजाइनअनुसारका अन्य मापदण्डहरू पालना भएमा यो सडक ३० देखि ४० वर्षसम्म टिक्नेछ, जसले गर्दा नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुनेछ।’
ढकालले थपे, ‘दैनिक १२ देखि २० हजारसम्म सवारी साधन आवतजावत गरे पनि यो सडकलाई केही असर पर्दैन। हामीले आगामी तीन दशकको ट्राफिक फोरकास्टलाई हेरेर नै यो संरचना तयार गरेका हौँ।’
सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको आयोजनाले जनाएको छ। आगामी २० देखि ३० वर्षसम्मको सवारी चापको पूर्वानुमानलाई आधार मानेर दैनिक २० हजार सवारी साधन गुडे पनि क्षति नपुग्ने गरी सडक निर्माण गरिएको हो।
हाल दाउन्ने मन्दिरमुनिको पहिरो प्रभावित क्षेत्रमा करिब ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको छ। सडकको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारु भइसकेको ढकालले जानकारी दिए।
कालोपत्रे गर्दा सडक छिटो बिग्रने र मर्मत गरिरहँदा सर्वसाधारणले निरन्तर सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको प्रस्ट पारेको छ। यससँगै दाउन्ने खण्डमा बर्सेनि हुने सडक अवरोध र पहिरोको समस्या दीर्घकालीन रूपमा समाधान हुने सरकारको अपेक्षा छ।
प्रतिक्रिया 4