+
+
Shares

निर्देशित कर्जा लगानी अनुसार प्रतिफल छैन : मनोज ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १४:५९

२१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेका क्षेत्रमा गरिएको कर्जा लगानीबाट उचित प्रतिफल नआएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले औंल्याएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सम्बोधन गर्नु पर्ने विषय सुझाउँदै उनले तोकिएका क्षेत्रको कर्जा लगानीले अर्थतन्त्रमा योगदान हुन नसकेको बताए । बैंकले कुल कर्जाको ४५ प्रतिशत तोकिएका क्षेत्रमा लगानी गरेको बताउँदै उनले भने, ‘ऊर्जा बाहेक क्षेत्रमा भएको लगानी अनुसार प्रतिफल छैन ।’

अर्थतन्त्रमा योगदान गर्ने भन्दै तोकिएका क्षेत्रमा लगानी अनिवार्य गरे पनि त्यसले उत्पादन बढाउन मद्दत नगरको उनले बताए । ‘तोकिएका क्षेत्रको कर्जाले उत्पादन पनि बढाएन र डिफल्टको पनि धेरै समस्या आयो,’ उनले भने,‘आगामी आर्थिक वर्षको मौद्रिक नीति कर्जाको माग बढाउने गरी मात्र आउनु हुँदैन ।’

त्यसैगरी ज्ञवालीले खराब कर्जामा वर्गीकरण गर्ने व्यवस्था खुकुलो गर्नुपर्ने सुझाए । उनले कर्जा डिफल्टरलाई स्वेच्छिक हो वा होइन भनेर वर्गीकरण गर्नु पर्ने सुझाए । स्वेच्छिक रुपमा कर्जा डिफल्ट गराउने ऋणीलाई अहिलेको एक वर्ष पनि धेरै हुने उनको भनाइ छ । तर समस्यामा नै परेको अवस्थामा खराब कर्जामा वर्गीकरण गर्ने अवधि बढाउन उनले सुझाए । माग नै नभएको क्षेत्रमा कर्जा लगानी गर्न निर्देश गर्दा डिफल्टको समस्या झनै बढ्ने उनको भनाइ छ ।

देशको कुल राज्य आयमा बैंकिङ क्षेत्रको १३ प्रतिशत योगदान रहेको उनले बताए । बैंकहरूको त्यो राजस्व योगदान आय कर अन्तर्गतको हो । बैंकहरुले नाफा कमाउँदा सरकारलाई पनि फाइदा पुगेको उनको भनाइ छ । वित्तीय क्षेत्रमा समस्यामा आउँदा राज्यको आम्दानीलाई समेत प्रभावित पर्ने उनको भनाइ छ । त्यसैले मौद्रिक नीतिदेखि सरकार मार्फत पनि बैंकिङ क्षेत्रलाई सहजीकरण गरेर अघि बढ्नुपर्ने उनको सुझाव छ ।

बैंकहरूलाई पूँजी कोष दबाबका कारण लगानी विस्तारमा असर पुगेको भन्दै उनले पूँजी वृद्धिको अनुमति दिन सुझाए । त्यसैगरी उनले धितो राखिने सम्पत्ति जसको नाममा छ उसले हस्ताक्षर गरेपछि कर्जा पाउने व्यवस्था गर्न सुझाउँदै भने, ‘धितो राखिएको सम्पत्तिमा पहिलो अधिकार सम्बन्धित बैंकको हुने कानुनी व्यवस्था गरेको खण्डमा ऋणीको परिवारले दुःख पाउनु पर्दैन ।’

बैंकहरुले धेरै नाफा गरे भन्ने गलत भाष्य स्थापित गरिएको उनको गुनासो छ । ज्ञवालीले अन्य क्षेत्रभन्दा बैंकिङ क्षेत्रका लगानीकर्ताले पाउने प्रतिफल अत्याधिक न्यून रहेको बताए । बैंकहरूलाई उपयूक्त नाफा गर्न दिनु पर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?