२१ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेर बेपत्ता भएका कर्मचारीलाई सेवाबाट हटाउन सुरु गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत दुई जना कर्मचारीलाई बर्खास्त गर्दै मन्त्रालयले कारबाही सुरुवात गरेको हो । कृषिमन्त्री तथा नार्ककी अध्यक्ष गीता चौधरीले दरबन्दी मात्र ओगटेर कार्यालय नआउने कर्मचारीलाई हटाउने कदम अगाडि बढाएकी हुन् ।
बर्खास्तमा पर्नेहरूमा सुनसरीको तरहरास्थित कृषि अनुसन्धान निर्देशनालयमा कार्यरत प्राविधिक अधिकृत (छैटौं) पार्वती जोशी र ललितपुरको खुमलटारस्थित राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्रमा कार्यरत वैज्ञानिक (एस–१) नमिता भट्टराई छन् ।
सरकारले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेकाले सोहीअनुसार मन्त्रालयले एक्सन लिएको मन्त्री चौधरीले बताइन् । उनले काम नगरी पद मात्र ओगट्ने प्रवृत्ति अब नचल्ने बताइन् ।
‘सरकारले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ, दरबन्दी मात्र ओगटेर कार्यालयमा उपस्थित नहुने र जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कुनै हालतमा छुट दिइने छैन,’ मन्त्री चौधरीले भनिन्, ‘नार्कबाट यसको सुरुवात भएको छ, अब मन्त्रालयअन्तर्गत रहेका विभाग, केन्द्रलगायत अन्य निकायमा बेपत्ता भएका कर्मचारीलाई पनि खोजेर सेवाबाट हटाइनेछ ।’
मन्त्रालयका अनुसार कर्मचारी प्रशासन विनियमावली, २०६२ बमोजिम ती दुई कर्मचारीलाई उनीहरू अनुपस्थित रहेको मितिदेखि नै लागु हुने गरी सेवाबाट हटाइएको हो ।परिषद्ले उनीहरूको घरको ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिक पत्रिकामा ७ दिने सूचना प्रकाशित गरी सम्पर्कमा आउन आग्रह गरेको थियो ।
तर, तोकिएको अवधिमा पनि उनीहरू सम्पर्कमा नआएपछि परिषद्को कार्यकारी समितिको निर्णयअनुसार सेवाबाट बर्खास्त गरिएको मन्त्री चौधरीले जानकारी दिइन् ।
प्रतिक्रिया 4