संगीतकर्मी शारदा डंगोलले शास्त्रीय राग र ताल प्रणालीमा आधारित परम्परागत नेवाः भजन संगीत ‘दाफा’ लाई बाल्यकालमै नजिकबाट चिन्ने मौका पाइन् । यो मौलिक परम्पराबाट प्रभावित भएर उनले कक्षा १० उत्तीर्ण गरेपछि दाफा सिक्ने प्रयास गरिन् ।
तर, तत्कालीन अनुदारवादी सामाजिक मान्यताका कारण महिलाहरूलाई दाफा अभ्यास गर्न बन्देज थियो । जसले गर्दा उनले लुकिछिपी आफैं सिक्न बाध्य हुनुपर्यो।
सन् २०२३ मा उनी कलाकार र सांस्कृतिक अभियन्ताहरूलाई सहयोग गर्ने कार्यक्रम ‘माया आर्ट रेजिडेन्सी’ मा आबद्ध भइन् । उनको यो यात्राले एउटा महत्त्वपूर्ण मोड लियो । त्यहाँ दाफा संगीतको संसारलाई अझ गहिराइबाट बुझिन् । र, आफ्नो लगावलाई अघि बढाउन प्रोत्साहन दिने एउटा सहयोगी समूह पाइन् ।
समय बदलिएसँगै विगतका कडा लैंगिक अवरोधहरू क्रमशः कमजोर त हुँदै गएका छन् । तर, डंगोलले एउटा नयाँ निराशाजनक यथार्थको सामना गर्नुपर्यो– स्वयं नेवाः समुदायकै धेरै मानिसहरू दाफा संगीतबारे अनभिज्ञ थिए । आफ्नो पहिचान र सम्पदाको एउटा महत्त्वपूर्ण हिस्सा हराउँदै गइरहेको महसुस गरेपछि उनलाई यसका लागि केही गर्नैपर्छ भन्ने लाग्यो ।
यो कला विधालाई जात्रा र विशेष अवसरहरूमा प्रस्तुत गरिने सबैभन्दा पुरानो भजन संगीत मानिन्छ । प्राध्यापक रिचर्ड विडिसले आफ्नो पुस्तक ‘दाफा: सेक्रेड सिङ्गिङ इन अ साउथ एशियन सिटी’ मा दाफाको संगीत र यसको अभ्यासले यसको ऐतिहासिक उत्पत्ति र पछिल्ला रूपान्तरणहरूलाई समेटेको उल्लेख गरेका छन् । साथै, यसले अन्य दक्षिण एसियाली परम्पराहरूसँगको सम्बन्धलाई केलाउँदै संगीत कसरी दैनिक सामाजिक र धार्मिक जीवनको अभिन्न अंग हो भन्ने कुराको सांस्कृतिक चित्रण गर्छ ।

शताब्दीयौंदेखि दाफा नेवाः धार्मिक र सामाजिक जीवनको एउटा महत्त्वपूर्ण अंग रहँदै आएको छ । जसले परम्परागत बाजागाजासहितको भजन गायनमार्फत समुदायलाई एकजुट बनाउने काम गर्छ । तर, नयाँ पुस्ताले यसलाई अँगाल्न छाडेका कारण यो परम्परा दिनानुदिन संकटमा पर्दै गएको यसका अभ्यासकर्ताहरू बताउँछन् ।
फिल्ममार्फत दाफाको प्रवर्द्धन
यही परम्परालाई जोगाउन डंगोलले दाफालाई व्यापक दर्शकमाझ पुर्याउन सिनेमाको माध्यम रोजिन् । डेढ वर्षको अथक मेहनतपछि उनले आफ्नो छोटो चलचित्र ‘जय श्री हारती मा’ तयार पारिन् । हालै यस चलचित्रले सेन्सर बोर्डबाट प्रदर्शनको आधिकारिक अनुमति समेत पाइसकेको छ।
“चलचित्रले दाफा संगीतलाई समेट्दै देवी हारती माको कथा भन्छ” डंगोलले अनलाइनखबरसँग भनिन्।
यस चलचित्रमार्फत उनले बिस्तारै हराउँदै जान लागेको यो मौलिक कलाप्रति मानिसहरूको चासो पुनः जगाउने आशा राखेकी छन् । हाल उनी सिनेमा हलहरूसँग छलफलमा छिन् । आगामी दुई महिनाभित्रै चलचित्र प्रदर्शन गर्ने योजना छ उनको ।
डंगोलका लागि यो यात्रा सहज भने थिएन । उनीसँग निर्देशकका रूपमा फिल्म निर्माणको अनुभव थिएन । प्रारम्भिक अनुसन्धान र लेखनदेखि जनशक्ति व्यवस्थापन र आर्थिक जोहो गर्ने हरेक चरणमा ठूला चुनौतीहरूको सामना गर्नुपर्यो ।
‘सबैभन्दा चुनौतीपूर्ण काम आर्थिक व्यवस्थापन गर्नु नै थियो’ डंगोल विगत सम्झिन्छिन्, ‘बजेटको ठूलो हिस्सा मेरो व्यक्तिगत बचतबाटै खर्च भएको थियो।’
बचतले नपुगेपछि परियोजनालाई जीवित राख्न आफ्ना गहना बेच्ने तयारीमा थिइन् उनी । सौभाग्यवश, काठमाडौं महानगरपालिकाबाट प्राप्त अनुदानले उनलाई ठूलो राहत मिल्यो।
चलचित्र निर्माणको यस यात्रामा डंगोलले एउटा तितो यथार्थ पनि भोग्नुपर्यो । संस्कृति र सम्पदा प्रवर्द्धनका लागि स्थापना भएका संस्थाहरू नै नयाँ परियोजनाहरूलाई सहयोग गर्न हिचकिचाउँदा रहेछन् । उनले अनुदानका लागि थुप्रै संस्थाहरूको ढोका ढकढक्याइन् । तर, त्यो गुहारको सुनुवाइ कतैबाट भएन ।
‘विशेष गरी दाफा प्रवर्द्धनकै लागि बजेट छुट्याएका संस्थाहरूले समेत लगानी चाहेनन्’ उनी भन्छिन्, ‘उनीहरूसँग यसको कुनै चित्तबुझ्दो कारण पनि हुँदैनथ्यो, त्यो देख्दा मन साह्रै अमिलो भयो ।’
बहुप्रतिभाशाली संगीतकर्मी
चलचित्र निर्माण पछिल्लो रुचि बने पनि डंगोलको जीवनको मूल आधार भने संगीत नै हो । बहु-वाद्यवादक (मल्टि-इन्स्ट्रुमेन्टलिस्ट) का रूपमा उनी धिमे, खिं, मादल र ढोलकजस्ता परम्परागत बाजाहरू बजाउँछिन् । उनी एकैपटक १७ वटा मादल बजाउन सक्छिन्।
आफ्नो प्रस्तुतिबाहेक काठमाडौंका विभिन्न विद्यालयहरूमा संगीत सिकाउँछिन् । उनले आफ्नै घरमा पनि संगीतका कक्षाहरू सञ्चालन गरिरहेकी छिन्। डंगोलको संगीतप्रतिको रुचि विद्यालय जीवनमै सुरु भएको हो । अतिरिक्त क्रियाकलापका क्रममा केटाहरूले मादल बजाएको आवाजले उनलाई आकर्षित गरेको थियो
।
‘त्यो धुनले मलाई मन्त्रमुग्ध बनायो’ डंगोल सम्झिन्छिन्, ‘मैले संगीत कक्षामा भर्ना हुन आफ्ना केही साथीहरूलाई समेत फकाएर सँगै लगेकी थिएँ ।’ सुरुमा उनको परिवारले औपचारिक संगीत शिक्षा लिने उनको चाहनाको विरोध गर्दै विज्ञान विषय पढ्न दबाब दिएको थियो । यद्यपि, भित्री रूपमा सहयोग गर्दै उनीहरूले शारदालाई एउटा मादल भने किनिदिएका थिए ।
परिवारको इच्छासँग सम्झौता गर्दै डंगोलले ‘फार्मेसी’ मा स्नातक (बी.फर्मा) गरिन् । र, हाल संगीतकर्मसँगै आफ्नै औषधी पसल (फार्मेसी) पनि सञ्चालन गरिरहेकी छिन् । अहिले एउटी छोरीकी आमा, संगीतकर्मी, शिक्षिका र चलचित्र निर्माताका रूपमा सबै फरक भूमिकाहरूलाई सन्तुलनमा राखिरहेकी छिन् उनले । यसको श्रेय उनी आफ्ना सहयोगी श्रीमान्लाई दिन्छिन् ।
नयाँ पुस्ता र भविष्यको यात्रा
डंगोल आफ्नी ८ वर्षकी छोरीलाई औपचारिक संगीत शिक्षा दिन खुसीसाथ तयार छिन् । आमाका विद्यार्थीहरूलाई हेरेरै ती सानी नानीमा संगीतप्रतिको रुचि प्रगाढ भइसकेको प्रस्ट देखिन्छ ।
‘म उसमा संगीतको वास्तविक भोक देख्छु’ डंगोल भन्छिन्, ‘मैले बुझ्न महिनौं लगाएका कुराहरू उनी निकै चाँडो पक्रन्छिन् ।’ आमा बन्ने उनको यो यात्रामा आफ्नै चुनौतीहरू थिए । गर्भावस्था र मातृत्वको सुरुवाती दिनहरूका कारण डंगोल लामो समयसम्म स्टेजबाट टाढा रहनुपर्यो । यो लामो अन्तरालले उनको आत्मविश्वासमा ह्रास ल्यायो र मानसिक स्वास्थ्यमा पनि असर पुर्यायो ।
तर, एउटा कार्यक्रममा कवि उज्ज्वला महर्जनसँग भएको भेट उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । महर्जनको प्रोत्साहन नै डंगोललाई संगीतमा पुनरागमन गराउने ऊर्जा बन्यो । जसका लागि उनी अझै पनि कृतज्ञ छिन् । आज यी दुवै जना विभिन्न परियोजनाहरूमा सहकार्य गरिरहेका छन् ।
अझै पनि महिला संगीतकर्मीहरूको न्यून उपस्थितिलाई लिएर डंगोल निकै चिन्तित छिन् । उनको विचारमा, पारिवारिक दबाब र सामाजिक अवरोधहरूले गर्दा प्रतिभाशाली महिलाहरू अझै पनि स्वतन्त्र रूपमा संगीत क्षेत्रमा लाग्न सकिरहेका छैनन् ।
आज डंगोलको अभियान आफ्ना प्रस्तुति र चलचित्रहरूमा मात्र सीमित छैन । उनी आगामी पुस्ताका लागि दाफा जोगाउँदै थप महिलाहरूलाई संगीत क्षेत्रमा आउन प्रेरित गर्न चाहन्छिन् ।
यसै उद्देश्यका लागि उनले हालै मात्र आफ्नो नयाँ संस्था ‘धिन् ताङ दाफा समाज नेपाल’ दर्ता गरेकी छन् । ‘हामीले हाम्रो संस्कृतिको संरक्षण गर्नैपर्छ । हामीले नगरे कसले गर्छ र ?’ उनी भन्छिन् ।
प्रतिक्रिया 4