काठमाडौं । लोकप्रिय पप गायक, द भ्वाइस अफ नेपालका निर्णायक तथा मङ्गोलियन हार्ट ब्यान्डका मुख्य गायक राजु लामाले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण गरेका छन् ।
सामाजिक संजालबाट उनले आफूले ५६४२ मिटर अग्लो हिमाल चढेको जनाएका छन् । लामाले एल्ब्रस आफ्नो ‘सेभेन समिट्स च्यालेन्ज’ अन्तर्गतको तेस्रो सफल आरोहण रहेको बताएका छन् ।
उनले पर्वत र प्रकृतिसँग आफ्नो विशेष भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै शिखरमा पुगेपछि अनुभूत भएको खुसी र उत्साह शब्दमा व्यक्त गर्न नसकिने बताएका छन् ।
लामाका अनुसार सात जना नेपाली आरोहीसँगै गरिएको यो यात्रा अविस्मरणीय बनेको छ । उनीहरू सबैले विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) र जलवायु संकटबारे जनचेतना फैलाउने साझा उद्देश्यका साथ यो अभियान सञ्चालन गरिरहेका छन् । अभियानमार्फत पृथ्वीको संरक्षणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य रहेको उनले बताएका छन् ।

यसअघि पनि लामाले जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।
संगीतसँगै वातावरण संरक्षण र हिमालप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तर अघि बढाउँदै उनले अहिले ‘सेभेन समिट्स च्यालेन्ज’ लाई पनि अगाडि बढाइरहेका छन् ।
प्रतिक्रिया 4