+
+
Shares

पटनाका २ कोचिङ ग्याङवार : विराटनगरको घटना देखिएन शंकास्पद, छुटे आरोपित

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको बिहारस्थित दुई ठूला कोचिङ सेन्टरको विवादमा जोडिएका भारतीय नागरिक प्रिन्स यादवको मोरङमा भएको मृत्युको अनुसन्धान प्रहरीले टुंग्याएको छ ।
  • पोस्टमार्टम र भिसेरा जाँचपछि उनको मृत्यु प्राकृतिक देखिएकाले प्रहरीले घटनामा संलग्न भनिएका उनका चार साथीलाई अभद्र व्यवहारको मुद्दा चलाएर धरौटीमा छाडेको छ ।
  • खान ग्लोबल स्टडिज र ज्ञान बिन्दु एकेडेमीबीचको विवादमा जोडिएका प्रिन्स उपचारको क्रममा अस्पतालमा मृत फेला परेका थिए ।

२६ असार, काठमाडौं । भारतको बिहारस्थित दुई ठूला कोचिङ सेन्टरको विवादमा जोडिएका व्यक्तिको नेपालमा शंकास्पद मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान टुंग्याएको छ ।

खान सरको खान ग्लोबल स्टडिज र रोशन आनन्दको ज्ञान बिन्दुबीचको विवाद र गोलीकाण्डको विषयमा सार्वजनिक भएको थियो । यो गोलीकाण्डमा जोडिएको भनिएका व्यक्ति मोरङस्थित विराटनगरमा आइपुगेका थिए ।

गत २ जुनमा खान सर नामले परिचित फैजल खानको खान ग्लोबल स्टडिजमा गोली चलेको थियो । यही घटनाका आरोपित भनिएका व्यक्ति २४ वर्षीय भारतीय नागरिक प्रिन्स यादव विराटनगरमा मृत भेटिएका थिए । प्रिन्सको मृत्यु भएपछि उनीसँगै आएका चार भारतीय नागरिकहरु २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको थियो ।

तर अनुसन्धानको क्रममा प्रिन्सको मृत्यु भएको देखिएन । पोस्टमार्टम रिपोर्टदेखि भिसेरा जाँच गर्दा समेत उनको मृत्यु शंकास्पद नदेखिएको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार प्रिन्स मुटुको बिरामी रहेको र औषधी समेत सेवन गरेको पाइएको थियो ।

मृत्युमा कुनै संका नदेखिएपछि पक्राउ परेका प्रिन्सका चार साथीहरुलाई मोरङ प्रहरी अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो । मुद्दा चलाइएका चारै जना जनही २५ हजार धरौटीमा रिहा भएको समेत मोरङका प्रहरी प्रमुख तथा एसपी कवित कटवालले बताए ।

मृतक प्रिन्स पटनामा रहेको ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन कान्छा भाइ हुन् । दाजुभाइविरुद्ध खान सर एकेडेमीका सञ्चालक फैजल खानले जाहेरी दिएका थिए । प्रहरीको खोजीमा परेपछि प्रिन्स भागेर विराटनगर आएका थिए ।

केही दिनदेखि विराटनगर–१० स्थित शुभ होटलमा बस्दै आएका उनलाई अचेत भएपछि राति १०:५५ मा उनकै साथीले न्युरो अस्पताल पु‍र्‍याएका थिए । न्यूरो अस्पताल प्रशासनका अनुसार अस्पताल पुर्‍याउँदा  उनको मृत्यु भइसकेको थियो ।

उनी २० जेठमा साथीहरूसँग विराटनगर आएका थिए । सुरुमा मेट्रो होटलमा २ दिन बसेका उनी त्यसपछि शुभ होटलमा सरेका थिए ।

भारतीय सञ्चार माध्ययमका अनुसार कुनै समय खान सरले परिचित फैजल खान र प्रिन्सका दाजु रोशन आनन्दसँगै अध्यापन गराउँथे । कोरोना महामारीको समयमा कोचिङ सेन्टर सुरु गरेपछि उनीहरुबीच टकराव सुरु भएको थियो ।

गत जुन २ मा भने ज्ञानबिन्दु कोचिङ सेन्टरका सञ्चालक रोशन आनन्दको समूहले खान सरको सेन्टरमा आक्रमण गरेको आरोप छ । सो घटनामा खान ग्लोबल स्टडिजका सुरक्षाकर्मीले पनि गोली चलाएको देखिएको थियो । यो मुद्दा भारतीय अदालतमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?