३२ असार, काठमाडौं । छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ५ मा गोरेटो बाटोबाट लडेर स्थानीय प्रवीर घर्तीको मृत्यु भएको छ । हिजो साँझ करिब ६ बजे उनी घर नजिकै बाटोमा लडेर अन्दाजी चार सय मिटर तल खोल्सामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
यसैगरी बाराको करैयामाई गाउँपालिका ३ स्थित गौतम इट्टा उद्योगले माटो निकाल्नका लागि खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय शिवनारायण चौधरीकी छोरी ११ वर्षीय रोशनीको मृत्यु भएको हो ।
बाख्रा चराउन गएकी उनी हिजो साँझ पाँच बजे खाल्डोमा जमेको पानीमा डुबेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको जनकपुर बसपार्क अगाडि हिजो बेलुका अचेत फेला परेका महोत्तरीको लोहारपट्टी बस्ने ३० वर्षीय मुन्ना मण्डलको पनि मृत्यु भएको छ । हिजो बेलुका सात बजे अचेत अवस्थामा फेला परेका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौना बजारमा हिजो बेलुका मोटरसाइकलको टक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका ५ बस्ने १४ वर्षीय मोहम्मद सदिकको मृत्यु भएको हो ।
शम्भुनाथबाट बिसनपुर जाँदै गएको भारतीय नम्बरको मोटरसाइकलले हिजो बेलुका पौने सात बजे साइकलमा सवार सादिकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सप्तरीमा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय कडरवना सप्तरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4