+
+
Shares

नेपाली सेनामा नयाँ इतिहास : तीनै पुस्ता ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ बाट दीक्षित

नवीन पोखरेल नवीन पोखरेल
२०८३ साउन ३ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाका अधिकृत तेजस जङ्ग थापा बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट दीक्षित हुने आफ्नो परिवारको तेस्रो पुस्ता बन्नुभएको छ ।
  • लेफ्टिनेन्ट थापाले भन्नुभयो, 'मेरो मार्गदर्शक र प्रेरणाका स्रोत बुबा, हजुरबुबाको साथमा दीक्षित हुन पाउँदा निकै खुसी छु, यसले पेसाप्रति थप गर्व तुल्याएको छ ।'
  • हजुरबुबा तेजेन्द्रजङ्ग थापा र बुबा अनुपजङ्ग थापाले पनि यसै एकेडेमीबाट तालिम लिएकाले थापा परिवारमा तीन पुस्तासम्मको सैनिक विरासत कायम भएको छ ।

लन्डन । नेपाली सेनाको इतिहासमा एउटा ऐतिहासिक संयोग जुरेको छ । हजुरबुबा, बुबा र छोरा गरी तीनै पुस्ता बेलायतको प्रतिष्ठित ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ बाट दीक्षित भएका छन् ।

‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ मा १८ जुलाई शनिबार ‘कमिस्निङ कोर्स सर्ट २६२’ पूरा गरेका अधिकृतहरूको दीक्षान्त समारोह सम्पन्न भयो, जसमा ७४ जना नवनियुक्त अधिकृतहरूले सफलताको उत्सव मनाए । तीमध्ये एक थिए- नेपाली सेनाका उत्कृष्ट अधिकृत लेफ्टिनेन्ट तेजस जङ्ग थापा, जसले नेपालबाट स्यान्डहर्स्टमा दीक्षित हुने तेस्रो पुस्ताको पहिलो अधिकृत बनेर इतिहास रचे ।

‘मेरो मार्गदर्शक र प्रेरणाका स्रोत बुबा, हजुरबुबाको साथमा दीक्षित हुन पाउँदा निकै खुसी छु, यसले पेसाप्रति थप गर्व तुल्याएको छ’, तेजसले भने । शनिबार आयोजित छोराको दीक्षान्त समारोहमा हजुरबुबा र बुबासमेत उपस्थित थिए ।

लेफ्टिनेन्ट थापाको पारिवारिक पृष्ठभूमि सैनिक परम्परासँग गहिरो गरी जोडिएको छ । उनका हजुरबुबा (बुबातर्फ), अवकाशप्राप्त ब्रिगेडियर जनरल तेजेन्द्रजङ्ग थापा र अर्का हजुरबुबा (आमातर्फ), स्वर्गीय लेफ्टिनेन्ट कर्णेल प्रवल शमशेर राणा सन् १९६० देखि १९६२ को अवधिमा स्यान्डहर्स्टमा सँगै तालिम लिने सहपाठी थिए।

दीक्षित भएपछि बुबा र हजुरबुबाको साथमा तेजस

यस प्रतिष्ठित संस्थामा उनीहरूले सँगै हासिल गरेको अनुभवले परिवारभित्र उत्कृष्टताको जग बसाल्यो । यसका साथै, लेफ्टिनेन्ट थापाका बुबा मेजर जनरल अनुपजङ्ग थापाले पनि सन् १९९० देखि १९९१ सम्म स्यान्डहर्स्टमा तालिम लिई यस विरासतलाई अझ सुदृढ बनाए ।

लेफ्टिनेन्ट थापाका बाजे स्यान्डहर्स्टबाट दीक्षित हुँदा तत्कालीन राजा महेन्द्र र रानी रत्नको उपस्थिति थियो भने बुबा मेजर जनरल अनुपजङ्गको तालिम दौरान बेलायतकी रानी एलिजावेथ द्वितीयको भ्रमण भएको थियो ।

पुस्तान्तरण हुँदै आएको यो सम्बन्धले सैन्य सेवाप्रतिको गहिरो पारिवारिक प्रतिबद्धतालाई मात्र नभई नेपाली सेना र बेलायती सेनाबीचको लामो समयदेखिको सम्बन्धलाई समेत उजागर गरेको छ ।

रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टलाई विश्वभरि नै सैनिक अधिकृत तालिमका लागि एक उत्कृष्ट संस्थाका रूपमा लिइन्छ, जसले विभिन्न राष्ट्रहरूका आकांक्षी नेतृत्वकर्ताहरूलाई आकर्षित गर्दै आएको छ ।

नेपालले सन् १९५२ देखि नै स्यान्डहर्स्टमा क्याडेटहरू पठाउँदै आएको छ । सुरुवाती चरणमा वार्षिक दुई जना क्याडेट त्यहाँ पठाइन्थ्यो । यस वर्ष अगस्ट र डिसेम्बरमा पनि दुई अधिकृत कमिस्निङ हुन लागेका छन् ।

पछिल्ला दशकहरूमा नेपाली सेनाका अधिकृतहरूले यस एकेडेमीमा उत्कृष्ट प्रतिष्ठा कमाएका छन् । उनीहरू प्रायः आफ्नो समर्पण, नेतृत्व क्षमता र शैक्षिक दक्षताका कारण विशिष्ट रूपमा चिनिन्छन्, जसले गर्दा उनीहरूले आफ्ना सहपाठी तथा प्रशिक्षकहरूबाट सम्मान र प्रशंसा प्राप्त गरेका छन्।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?