News Summary
Generated by OK AI. Editorially reviewed.- पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण मुग्लिन–काठमाडौं सडक खण्ड हाल अवरुद्ध छ ।
- धादिङको जवाङ खोला र चितवनको फिसलिङ क्षेत्रमा खसेको पहिरो पन्छाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
- पहिरोका कारण सवारी साधनलाई नागढुङ्गा, सिम्ले र कुरिनटार क्षेत्रमा रोकिएको डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।
- काभ्रेको रोशी गाउँपालिकास्थित बीपी राजमार्गमा सडकको लेदो माटो हटाइसकिएको र यातायात सञ्चालनमा आएको छ ।
४ साउन, काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जवाङ खोलानेर दुई ठाउँमा पहिरो गएको छ भने चितवनको इच्छाकामना गाउँपालिका ३ फिसलिङमा पनि पहिरो खसेको छ ।
दुवै धादिङ र चितवन दुवै क्षेत्रमा पहिरो पन्छाउने काम जारी छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन–पोखरा सडक खुला छ । तर मुग्लिन–काठमाडौं सडक भने अहिले बन्द छ । पहिरो पन्छाउने काम जारी छ भने सवारी साधनहरुलाई कुरिनटार क्षेत्रमा रोकिएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालका अनुसार धादिङतर्फको पहिरो पन्छाउन पनि अझै केही घण्टा समय लाग्ने अनुमान छ ।
धादिङ प्रहरीले पहिरो पन्छाउन समय लाग्ने भएकाले सवारी साधनहरुलाई होल्ड गरिएको जनाएको छ । काठमाडौं–धादिङको सिमाना नागढुंगा र सिम्लेतर्फ सवारी साधनहरुलाई रोकिएको डिएसपी दाहालले बताए ।
वर्षाका कारण रात्रिकालीन यात्रामा जोखिम हुने भनेर धादिङ प्रहरीले गएराति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सन्चालनमा रोक लगाएको थियो । तर पहिरो खसेकाले अहिलेसम्म पनि सवारी साधन चलाउन रोक लगाइएको छ ।
बीपी राजमार्गक्षेत्र भने खुला छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ३ थलीमा सडकमै आएको लेदो माटो हटाएसँगै सवारी साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।
प्रतिक्रिया 4