News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नीतिगत स्पष्टता मात्रले पार्टीले समयको नेतृत्व गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
- काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टीको नीतिसँगै व्यावहारिक कार्यशैलीमा सुधारको खाँचो रहेको औंल्याउनुभयो ।
- उहाँले मुलुकको वर्तमान राजनीति ऋण काढेर घ्यु खाने प्रवृत्तिबाट ग्रसित रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
५ साउन, काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टी नीतिगत स्पष्ट भएर मात्र समग्रतामा समयको नेतृत्व गर्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, बीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीले नीतिसँगै व्यावहारिक कार्यशैलीमा सुधार गर्न सकेमात्र बदलिँदो समयको नेतृत्व गर्नसक्ने कुराको प्रमाण आजको पार्टी भएको बताए ।
उनले मुलुक र नागरिकको समस्या समाधानमा पार्टीको नीति केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले मुलुलको वर्तमान राजनीति अपेक्षाकृत ढंगले अघि बढ्न नसकेकोप्रति चिन्ता पनि व्यक्त गरे ।
उनले भने, ‘नेपाली कांग्रेस नीतिगत रूपमा स्पष्ट पार्टी हो, त्यसमा कुनै शंका छैन । हामी त्यही स्पष्ट नीति बोकेको पार्टीका कार्यकर्ता हौं । हाम्रा सारथिहरू आदरणीय हुनुहुन्थ्यो । तर नीतिगत स्पष्टता बोकेको पार्टीले मात्रै समग्रतामा सम्पूर्ण समयको नेतृत्व गर्न नसक्दो रहेछ भन्ने कुराको प्रमाण आजको पार्टी पनि हो ।’
उनले अगाडि भने, ‘त्यसैले नीतिगत स्पष्टता सँगसँगै व्यवहारमा देखिने गरी आफूलाई प्रस्तुत गराउन सक्ने पार्टी र नेतृत्व पनि हो । त्यसकारण हामीले समयको पदचापलाई बुझेर पार्टीलाई नीतिगत स्पष्टता दिएर मात्र होइन व्यावहारिक रूपमा थप स्पष्टता दिँदै कार्यकर्तालाई विश्वासको चाङमाथि उभ्याएर अगाडि बढाउनसक्ने क्षमता पनि हामीले बोक्न सक्नुपर्छ ।’
उनले वर्तमान राजनीति बाँचुञ्जेलसम्म ऋण काढेरै भए पनि घ्यु भातै खाउँ भन्ने तरिकाले चलिरहेको टिप्पणी गरे ।
प्रतिक्रिया 4