७ साउन, काठमाडौं । थाइल्यान्डले कम्बोडियासँगको सीमा क्षेत्रमा स्थायी पर्खालको पहिलो भाग निर्माण पूरा गरेको छ। गत वर्ष दुईपटक भएका हिंस्रक झडपपछि उत्पन्न तनावबीच थाइ सेनाले बुधबार यो जानकारी दिएको हो।
पूर्वी पोङ नाम रोनमा १.३ किलोमिटर लामो संरचना बनाइएको छ। यसमा कङ्क्रिट प्यानल, स्टिल मेस र काँडेतार प्रयोग गरिएको छ। चिफ अफ डिफेन्स फोर्सेज जनरल उक्रित बुन्तानोनले यो पर्खाललाई दीर्घकालीन सुरक्षाका लागि ‘स्थायी, बलियो र टिकाउ’ भनेका छन्।
स्थलगत निरीक्षणमा आएका पत्रकारहरूसँग उक्रितले भने, ‘यहाँका कङ्क्रिट पर्खाल प्यानलहरूको परीक्षण गरिएको छ। यसले साना हतियारको फायरबाट जोगाउन सक्ने पुष्टि हामीले गरेका छौँ।’
सुरुआती भागसँग जोडेर थप ७ किलोमिटरभन्दा लामो पर्खाल बनाउने सेनाको योजना छ। अन्य ८१७ किलोमिटर सीमा क्षेत्रको भौगोलिक अवस्था अध्ययन गरेर थप निर्माण अघि बढाइने उक्रितले बताए।
उक्रितले भने, ‘प्रत्येक क्षेत्रका फरक अवस्था छन्। फाइदाजनक हुने र भविष्यमा समस्या नआउने ठाउँमा मात्र हामी निर्माण गर्नेछौँ।’
थाइल्यान्ड र कम्बोडिया सीमामा अझै पनि सेना परिचालन छ। सीमा विवादका कारण गत वर्षको जुलाई र डिसेम्बरमा हवाई हमला र तोपखाना प्रयोग गरी हिंसात्मक झडप भएका थिए। ती झडपमा झन्डै १५० जनाको मृत्यु भएको थियो भने ३ लाख मानिस विस्थापित भएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि जुलाईको झडप पाँच दिनमा रोकिएको थियो। डिसेम्बरमा फेरि २० दिनसम्म झडप भएपछि दुवै पक्ष द्विपक्षीय युद्धविराममा सहमत भएका थिए।
प्रतिक्रिया 4