+
+
Shares

सुनसरी घटनाबारे गृहमन्त्री र सुरक्षा प्रमुखहरूबीच सिंहदरबारमा छलफल

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको घटनाबारे गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग सिंहदरबारमा छलफल गरेका छन् ।
  • सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।
  • घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले देवानगञ्ज गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।

११ साउन, काठमाडौं । सुनसरीमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग छलफल थालेका छन् ।

गृहमन्त्री गुरुङले गृहसचिव राजकुमार श्रेष्ठल, नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायतसँग छलफल गरेका हुन् ।

सो छलफलपछि सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गर्नु परेको प्रहरीको भनाइ छ । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको दाबी प्रहरीको छ ।

झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशलाई गोली लागेको छ । झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?