News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्न आज साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।
- सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सरकारले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।
- छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
११ साउन, काठमाडौं । सुनसरीको घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ । घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको सरकारले आज साँझ पाँच बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको हो ।
गृह मन्त्रालयको अध्यक्षतामा हुने केन्द्रीय समितिमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि रहन्छन् । उनीहरुले सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दै आवश्यक रणनीति बनाउने बताइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर गएराति एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । तर कर्फ्यू उल्लङ्घन गर्दै सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।
सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग आज मन्त्रालयमा छलफल आयोजना गरेका थिए । सो छलफलपछि सुनसरी घटना छानबिनका लागि गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।
गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ । सो समितिले यस्ता घटना दोहोरिन नदिन केके गर्ने भनेर सुझाव समेत दिनेछ ।
प्रतिक्रिया 4