News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीलाई संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेको बताएकी छिन्।
- उनले सीमा विवादका विषयमा प्रधानमन्त्रीले आधिकारिक जवाफ दिनुपर्ने माग नेपाली कांग्रेसको रहेको स्पष्ट पारिन्।
- कांग्रेस सदन अवरोध गर्ने पक्षमा नरहेको उल्लेख गर्दै थापाले संविधान र विधिको शासनमा पार्टी सधैँ अडिग रहेको बताइन्।
१२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीको विरोध नभई उनलाई संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेको बताएकी छिन् ।
मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक थापाले सीमा विवादका सम्बन्धमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाफ खोजिरहेकाले संसद्मा उक्त विषय उठाइएको बताइन् ।
यस विषयमा सत्ता पक्षका प्रमुख सचेतकहरूले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिवद्धता सभामुखमार्फत जनाएको समेत उनले जानकारी दिइन् ।
‘जनताले सीमा विवादका बारेमा प्रधानमन्त्रीको मुखबाट जवाफ खोजिरहनुभएको छ । त्यो जवाफ नपाएसम्म हामीले सदनमा आकस्मिक समय लिएर ध्यानाकर्षण गराइरहनुपरेको हो । आम जनता प्रधानमन्त्रीको सम्बोधन र सन्देशको प्रतिक्षामा छन्, तर अहिलेसम्म उहाँले यसबारे सम्बोधन गर्नुभएको छैन,’ उनले भनिन्, ‘नेपाली कांग्रेस संविधानभन्दा माथि केही छैन भन्ने मान्यता राख्छ । हामी सदन अवरोध गर्ने पक्षमा कहिल्यै छैनौं, तर संविधानमाथि आँच आउने अवस्था आएमा कांग्रेस सधैँ अग्रपङ्क्तिमा उभिएर त्यसको रक्षा गर्नेछ ।’
प्रधानमन्त्रीले संसद्मा प्रश्नोत्तरकै रूपमा नभए पनि राष्ट्रका नाममा सम्बोधन गर्दा सीमाको विषयलाई समेटेर जनतालाई स्पष्ट पार्न सक्ने सुझाव पनि उनले दिइन् ।
नेपाली कांग्रेस सदन अवरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले पार्टी सधैँ संविधान र विधिको शासनमा अडिग रहेको बताइन् ।
प्रतिक्रिया 4