१३ साउन, काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आग्रह गरेको छ । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनाबारे कांग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार एक सन्देश जारी गरी यस्तो आग्रह गरेका हुन् ।
‘यस घडीमा थप हिंसा र क्षति हुन नदिन धैर्य, संयम र संवादको बाटो अपनाउन सबैको कर्तव्य हो,’ सन्देशमा भनिएको छ, ‘धमिलो पानीमा माछा मारेर सामाजिक सद्भाव खलबल्याउने र साम्प्रदायिक हिंसा भड्काउने तत्त्वप्रति चनाखो रहन आवश्यक छ ।’
अफवाह र उत्तेजनाले परिस्थिति थप जटिल बनाउनसक्ने कांग्रेसले भनेको छ । ‘यस परिस्थितिमा सरकारले संवेदनशीलता गुमाएपनि समाजले संयम गुमाउनु हुँदैन । अत: अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण स्थानीयवासी, नागरिक समाज र राजनीतिक दलहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ कांग्रेसको सन्देशमा भनिएको छ ।
यस्तै, कांग्रेसले पार्टीका सबै समिति, नेता र सदस्यहरूलाई पीडित परिवारमा सहयोग पुर्याउन, घाइतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन निर्देशन दिएको छ ।
‘साथै, सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देश गर्दछ,’ कांग्रेसले भनेको छ ।
निर्देशनको उल्लंघन गरेमा विधानबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।
‘सरकार पूर्णत: अनभिज्ञ’
यस्तै, सुनसरी घटनामा सरकार देश र नागरिकको सुरक्षासँग अनभिज्ञ रहेको टिप्पणी गरेको छ । ‘विशेषगरी पछिल्लो समयमा देखिएका सुरक्षा सम्बन्धी विभिन्न घटना हेर्दा यो सरकार देश र नागरिकको सुरक्षा संवेदनशीलता र चुनौतीसँग पूर्णत: अनभिज्ञ रहेको प्रतित हुन्छ,’ कांग्रेसले भनेको छ ।
कांग्रेसले सामान्य विवादमा नागरिकको ज्यान जानेगरी गोली चलाउनु पर्ने अवस्था किन आयो ? भन्दै प्रश्न पनि गरेको छ । ‘र, संवेदनशील परिस्थितिमा राज्य संयमित हुन किन सकेन ? यी प्रश्नहरूको जवाफ सरकारले दिनु पर्दछ र घटनाको सम्पूर्ण जिम्मेवारी लिनु पर्दछ,’ कांग्रेसले भनेको छ ।
यस्तै, घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ ।
प्रतिक्रिया 4