+
+
Shares

‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ नारासहित दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै

पछिल्लो समय स्वास्थ्य सचेतना बढेसँगै कोदोको माग बढे पनि स्वदेशी उत्पादनले नधान्दा आयात चुलिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले \'कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन\' भन्ने नारासहित दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ मनाउने निर्णय गरेको छ ।
  • कृषि विभागका अनुसार नेपालमा २ लाख १४ हजार ४ सय ७७ हेक्टर जमिनमा कोदो खेती भइरहेको छ भने उत्पादकत्व १.३३ टन प्रतिहेक्टर छ ।
  • दिवसको मूल समारोह सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ ठोकर्पामा आयोजना गरिने कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले जानकारी दिए ।

१५ साउन, काठमाडौं ।  सरकारले ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा सम्बर्द्धन’ भन्ने मूल नारासाथ यस वर्ष ‘दोस्रो राष्ट्रिय कोदो दिवस २०८३’ मनाउने भएको छ ।

धान, मकै र गहुँपछि नेपालको चौथो मुख्य खाद्यान्न बालीका रूपमा रहेको कोदोको महत्त्व उजागर गर्न, खेती विस्तार गर्न र आम मानिसमा यसको उपभोग बढाउन यो दिवस मनाउन लागिएको कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले जानकारी दिएको छ ।

कृषि मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार नेपालमा २ लाख १४ हजार ४ सय ७७ हेक्टर जमिनमा कोदो खेती भइरहेको छ, जसबाट २ लाख ८४ हजार ३ सय ५२ टन उत्पादन भएको छ । यद्यपि, उत्पादकत्व निकै कम (१.३३ टन प्रतिहेक्टर) छ ।

पछिल्लो समय स्वास्थ्य सचेतना बढेसँगै कोदोको माग बढे पनि स्वदेशी उत्पादनले नधान्दा आयात चुलिएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आव २०८२/८३ मा ६२ करोड २८ लाख रुपैयाँ बराबरको (४४.८८ टन) कोदो तथा जुनेलो आयात भएको छ । जबकि, सोही अवधिमा जम्मा १३ लाख २५ हजार रुपैयाँ बराबरको (२.११ टन) मात्र निर्यात भएको छ । यसले स्वदेशमै उत्पादन बढाउनुपर्ने टड्कारो आवश्यकता देखाएको छ ।

पोषण भण्डार र जलवायु अनुकूल बाली

विभागका अनुसार कोदो प्रोटिन, फाइबर, भिटामिन, आइरन, क्याल्सियम र म्याग्नेसियमको राम्रो स्रोत हो । बदलिँदो आधुनिक जीवनशैलीका कारण बढ्दै गएका ‘नसर्ने रोग’ न्यूनीकरण गर्न कोदो उपभोग फलदायी हुने स्वास्थ्य मन्त्रालयको समेत ठहर छ ।

त्यसैगरी कम सिँचाइ र कम मलिलो पाखोबारीमा पनि फल्ने हुनाले यसलाई जलवायु परिवर्तन अनुकूल बालीका रूपमा लिइन्छ । कम कार्बन उत्सर्जन गर्ने यो बालीले हरितगृह ग्यास उत्सर्जन कम गर्न समेत सघाउ पुर्‍याउँछ ।

परम्परागत रूपमा रोटी, ढिँडो र सातुमा सीमित कोदोलाई अब केक, ब्रेड, चाउमिन, कुकिज, बिस्कुट, पिज्जा र डोनटजस्ता आधुनिक परिकार बनाएर युवापुस्ता र पर्यटकसम्म पुर्‍याउनुपर्नेमा विभागले जोड दिएको छ ।

कोदो संरक्षण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हालसम्म कोदोका ६, चिनोको १ र कागुनोको १ गरी जम्मा ८ जात दर्ता गरेको छ । यस्तै राष्ट्रिय जिन बैंकमा कोदोजन्य बालीका १ हजार २ सय ८० परिग्रहण सुरक्षित राखिएका छन् ।

सरकारले ६ वर्षदेखि करिब ५ सय स्थानीय तहमा कोदोजन्य बाली प्रवर्द्धनका लागि ससर्त अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।

सिन्धुपाल्चोकमा मूल समारोह

यस वर्षको दोस्रो राष्ट्रिय कोदो दिवसको मूल समारोह सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ ठोकर्पामा आयोजना हुने भएको छ । कृषि विभाग, सुनकोशी गाउँपालिका, राष्ट्रिय कृषक समूह महासंघ, लि–बर्ड, खाद्य तथा कृषि संगठन लगायत सरकारी तथा गैरसरकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा कोदो रोपाइँ, सचेतनामूलक गतिविधि तथा कृषक, सामुदायिक बिउ बैंक र कृषि पत्रकारलाई पुरस्कार तथा कदरपत्र वितरण गरिने कृषि विभागका महानिर्देशक एवं मूल आयोजक समिति अध्यक्ष प्रकाशकुमार सन्जेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?