+
+
Shares

रूपन्देहीको तिलोत्तमामा ४० किलोभन्दा बढी अखाद्य मासु बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बजार अनुगमनका क्रममा बुधबार ४० किलोभन्दा बढी खान अयोग्य मासु बरामद गरी नष्ट गरेको छ ।
  • नगरपालिकाले शंकरनगर र ड्राइभरटोलस्थित केही पसलबाट बरामद गरिएको उक्त मासु टोलीको रोहबरमा खाल्डो खनी वातावरणमैत्री ढंगले नष्ट गरेको छ ।
  • उपप्रमुख जागेश्वर देवी चौधरीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीलाई कानूनी कारबाहीको दायरामा ल्याइने बताइन् ।

१६ साउन, अर्घाखाँची । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको बजार अनुगमनका क्रममा ४० किलोभन्दा बढी खान अयोग्य मासु बरामद गरिएको छ ।

नगरपालिकाले बुधबार नगरभित्रका विभिन्न  मासु पसलमा गरेको अनुगमनका क्रममा उपभोगका लागि अनुपयुक्त अवस्थामा राखिएको मासु फेला परेपछि तत्काल बरामद गरी  नष्ट गरेको हो ।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मुक्तिराम खनालका अनुसार बरामद गरिएको मासु व्यवसायी तथा अनुगमन टोलीको रोहबरमा खाल्डो खनी वातावरणमैत्री ढंगले नष्ट गरिएको छ ।

उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको बिक्री वितरण रोक्न नियमित रूपमा बजार अनुगमनलाई प्रभावकारी बनाइएको नगरपालिकाले जनाएको छ ।

अनुगमन टोलीले मणिग्राम, वडा नम्बर ४, शंकरनगर, ड्राइभरटोल लगायतका क्षेत्रमा रहेका मासु पसलको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा मासुको गुणस्तर, सरसफाइ, भण्डारण अवस्था, बिक्री वितरण प्रक्रिया, व्यवसाय दर्ता, मूल्यसूची, पशुजन्य खाद्य वस्तुको स्वास्थ्य मापदण्ड तथा उपभोक्ता हितसम्बन्धी कानुनी व्यवस्थाको पालना भए–नभएको विषयमा विस्तृत रूपमा निरीक्षण गरिएको थियो ।

निरीक्षणका क्रममा शंकरनगर र ड्राइभरटोलस्थित केही वारसी मासु पसलमा लामो समयदेखि  राखिएको तथा उपभोगका लागि अनुपयुक्त अवस्थामा रहेको मासु फेला परेपछि टोलीले तत्काल बरामद गरी नष्ट गरेको हो ।

नगरपालिकाले यस्ता अखाद्य मासु बिक्री गर्ने व्यवसायीमाथि आवश्यक कानुनी कारबाही समेत अघि बढाइने जनाएको छ।

उपप्रमुख जागेश्वर देवी चौधरीले उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषयमा नगरपालिका कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारिन् ।

उनले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य वस्तु बिक्री गर्नु प्रत्येक व्यवसायीको दायित्व भएको उल्लेख गर्दै कानुनविपरीत कार्य गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याइने बताइन् ।

आर्थिक विकास शाखा प्रमुख मुक्तिराम खनालले मासुको उत्पादनदेखि बिक्रीसम्म स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न व्यवसायीलाई आग्रह गरे ।

अनुगमनमा सहभागी उद्योग तथा व्यापारिक संघ–संस्थाका प्रतिनिधिहरूले पनि स्वस्थ प्रतिस्पर्धा, उपभोक्ताको विश्वास र सुरक्षित व्यापारिक वातावरण कायम गर्न कानुनी मापदण्डको पूर्ण पालना आवश्यक रहेको धारणा राखेका थिए ।

तिलोत्तमा नगरपालिकाले आगामी दिनमा पनि अखाद्य, गुणस्तरहीन तथा मापदण्डविपरीतका खाद्य वस्तुको बिक्री वितरण रोक्न नियमित बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै उपभोक्ताको स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?