News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको स्वामिकार्तिक गाउँपालिका–३ की २४ वर्षीया अनिता महताराले स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै छोरीलाई जन्म दिएकी छन् ।
- जुकोट स्वास्थ्य चौकीकी अनमी ज्ञानुदेवी शाहीले घटनास्थलमै पुगेर प्रसूति गराएकाले अहिले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
- बाजुराका दुर्गम क्षेत्रमा सडक र आधारभूत स्वास्थ्य पूर्वाधारको अभावमा गर्भवतीहरूले जोखिमपूर्ण अवस्थामा बाटोमै बच्चा जन्माउनुपर्ने बाध्यता कायमै रहेको छ ।
१८ साउन, बाजुरा । बाजुरा स्वामिकार्तिक गाउँपालिका खापर–३ जोरुकी २४ वर्षीया अनिता महताराले बाटोमै बच्चा जन्माएकी छिन् । सुत्केरी बेथा लागेपछि स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा उनले बाटोमै छोरीलाई जन्म दिएकी हुन् ।
सुत्केरी बेथा सुरु भएपछि अनितालाई गाउँका ३–४ जना युवाले स्टेचरमा बोकेर स्वास्थ्य संस्थातर्फ लैजाँदै थिए । तर स्वास्थ्य संस्था पुग्नुअघि नै उनले बच्चा जन्माएको जुकोट स्वास्थ्य चौकीकी अनमी ज्ञानुदेवी शाहीले बताइन् । उनका अनुसार अहिले आमा र नवजात शिशुको अवस्था सामान्य छ ।
बाटोमा सुत्केरीको अवस्था जटिल बन्दै गएपछि जुकोट स्वास्थ्य चौकीबाट खटिएकी अनमी ज्ञानुदेवी शाही तत्काल घटनास्थलमा पुगेकी थिइन् । उनले बाटोमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउँदै अधारी खोला नजिक सुरक्षित प्रसूति गराएको स्थानीयले बताएका छन् । आफन्तले खबर गरेपछि आफू पुगेर सुत्केरी सेवा दिएको र अहिले आमा तथा बच्चाको अवस्था सामान्य रहेको उनले बताइन् ।

केही दिनअघि पनि सोही गाउँपालिकाकी एक आमाले बाटोमै बच्चा जन्माएकी थिइन् ।
सोही गाउँपालिका–२, उदिउना निवासी २४ वर्षीया सौरी बुढाले ओडारमै छोरालाई जन्म दिएकी थिइन् ।
सडक र सहज स्वास्थ्य सेवाको पहुँच नहुँदा गर्भवतीले बाटोमै बच्चा जन्माउनुपर्ने बाध्यता छ । बाजुराको जोरु गाउँमा अहिलेसम्म मोटरबाटो नपुगेकाले करिब एक घण्टा तल अधारी खोलासम्म पैदल यात्रा गर्न बाध्य हुनुपरेको स्थानीय बताउँछन् ।
बाजुराका दुर्गम बस्तीहरूमा सडक, एम्बुलेन्स सेवा र आधारभूत स्वास्थ्य पूर्वाधारको अभावका कारण हरेक वर्ष यस्ता जोखिमपूर्ण घटनाहरू दोहोरिने गरेका छन् ।
प्रतिक्रिया 4