+
+
Shares

ब्रोड पिकमा अस्ताएका ६ नेपाली कसलाई कसरी चिन्ने ?

पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका ६ नेपाली आरोहीले पर्वतारोहण क्षेत्रमा ठूलो योगदान गरेका थिए ।

अच्युत पुरी अच्युत पुरी
२०८३ साउन १९ गते २०:४०
काठमाडौंको माइतीघरमा मंगलबार साँझ निर्मल पुर्जासहितका पर्वतारोहीको सम्झनामा गरिएको दीप प्रज्वलन (तस्वीरहरू/आर्यन धिमाल)

१९ साउन, काठमाडौं । पाकिस्तानस्थित ८ हजार ४७ मिटर अग्लो  ‘ब्रोड पिक’ आरोहण क्रममा नेपालले पर्वतारोहण क्षेत्रका हस्तीहरू गुमायो ।

निर्मल पुर्जा (निम्स दाइ) सहित पुरबहादुर गुरुङ (युक्ता), किलीपेम्बा शेर्पा (किलु), निमा शेर्पा, नवाङथेन्दु शेर्पा र ग्यालु शेर्पालाई नेपालले यस दुर्घटनामा गुमायो । यी सबै आरोहीले नेपाली पर्वतारोहण क्षेत्रमा ठूलो योगदान गरेका थिए ।

१० पटक सगरमाथा चुमेका पुरबहादुर गुरुङ (युक्ता) 

उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा जन्मेका युक्ताको बाल्यकाल हिमालकै काखमा बित्यो । सन् १९८९ मा जन्मेका उनको ब्रिटिस सेनामा भर्ती हुने सपना थियो । सशस्त्र द्वन्द्वका कारण सपना अधुरै राखेर बाल्यकालमै उनी मनाङको होटलमा काम गर्न पुगे । ट्रेकिङ गाइडहरूसँग उनको सम्पर्क बढ्यो । गाइड बन्ने रहर बोकेर काठमाडौं झरे ।

‘सन् २००९ मा पोर्टरका रूपमा काम सुरु गर्नुभएको थियो,’ उनका सहकर्मी तुलसिङ गुरुङले भने, ‘बिस्तारै क्याम्पिङ ग्रुपका लागि किचेन हेल्परका रूपमा काम थाल्नुभयो ।’

युक्ताले क्रमश: सहयोगी गाइड, ट्रेक गाइड हुँदै प्लानिङ गाइडका रूपमा काम गर्न थालेको तुलसिङले बताए । उनका अनुसार गत डिसेम्बरमा मात्र युक्ताले इन्टरनेसनल माउन्टेन गाइड पास गरेका छन् ।

‘नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघमार्फत इन्टरनेसनल माउन्टेन गाइड पास गर्नुभएको थियो, तर यस्तो दु:खद खबर सुन्नुपर्‍यो,’ उनले भने ।

लाप्राकमै जन्मिएका तुलसिङ उक्त संघका अध्यक्ष समेत हुन् । गुरुङ समुदायबाट सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने युक्ता नै थिए । उनले १० पटक सगरमाथाको सफल आरोहण गगरेका थिए ।

पहिलो पटक युक्ताले सन् २०११ मा सगरमाथा चढेका थिए । त्यस्तै ८ हजार मिटर उचाइको १२ वटा हिमालको सफल आरोहण गरेका थिए ।

‘संसारभरि ८ हजार मिटरभन्दा उचाइका कुल १४ वटा हिमाल छन्, तीमध्ये आठ वटा नेपालमै पर्छ,’ तुलसिङले भने, ‘दुई वटा बाहेक बाँकी सबै उहाँले चढिसक्नुभयो ।’

पाकिस्तानको माउन्ट केटु हिमाल २४ घण्टाभित्र आरोहण गरेर उनले कीर्तिमान समेत कायम गरेका थिए । हिमालमा फसेका पर्यटकको उद्धारमा समेत उनी खटिन्थे । हिमालमै हुर्किएका उनी ३७ वर्षको उमेरमै हिमालमै अस्ताए ।

ब्रोड पिक आरोहणका लागि उनी तीन साताअघि नेपालबाट पाकिस्तान गएका थिए । अब कहिल्यै नफर्किने गरी उतै अस्ताएका छन् ।

८ हजार मिटरमाथि सबै १४ चुचुरो चुम्ने आरोही किलीपेम्बा शेर्पा (किलु)

किलीपेम्बा शेर्पाले हालै मात्र ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ हिमाल आरोहण पूरा गरेका थिए । त्यसपछि उनी ब्रोड पिक आरोहणमा गएका थिए । किलीपेम्बा कहिल्यै कीर्तिमानको पछाडि दौडिएनन् । बरु अरूको सपना पूरा गराइदिन तत्पर रहे ।

दोलखा गौरीशंकर गाउँपालिका–९ बेदिङका स्थानीय किलीपेम्बाको किशोरावस्थाबाटै भरियाका रूपमा हिमालसँग साइनो जोडियो । उनी पछिल्लो समय निम्स दाइसँगै विभिन्न आरोहण अभियानमा सहभागी भए ।

सन् २०२१ को शीतकालीन सफल आरोहणका बेला १० जनाको टोलीमा सदस्य थिए । किलीपेम्बाले सगरमाथा चुचुरोमा १५ पटक पाइला राखेर अर्को कीर्तिमान राखेका छन् । उनको जन्म २०३८ सालमा भएको थियो ।

उनले सन् १९९६ मा मनास्लु हिमाल पुग्दै आरोहण यात्रा थालेका थिए । २००३ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए । जानकार आरोहीका अनुसार किलीपेम्बा निकै साहसिक आरोही हुन् ।

उनको सहयोगमा हिमालमा कैयौँ असम्भव आरोहण सम्भव भएको छ । सन् २०१८ मा दुवै खुट्टा गुमाएका शिया बोयुलाई सगरमाथाको सफल आरोहण गराउन उनले प्रेरणादायी भूमिका खेलेर प्रशंसा बटुलेका थिए ।

शिखरका मिहिनेती आरोही निमा शेर्पा

पर्वतारोहण क्षेत्रमा निर्मा शेर्पालाई चिन्नेहरू एक मिहिनेती आरोहीका रूपमा चिन्छन् । संखुवासभा मकालु गाउँपालिकाका स्थानीय निमा ३६ वर्षका थिए । उनी शिखरहरूमा सफलताको सिँढी उक्लने क्रममा थिए । यस वर्षमात्र उनले ८ हजार मिटर अग्ला ४ हिमालको सफल आरोहण गरिसकेका थिए । पदयात्रामा सहयोगीको भूमिका निर्वाह गर्दागर्दै उनी आरोहणतर्फ होमिएका थिए ।

पारिवारिक बिरासत धान्दै थिए नवाङथेन्दु शेर्पा

ब्रोड पिकले प्रतिभाशाली युवा आरोही नवाङथेन्दु शेर्पाको उज्ज्वल यात्रामा समेत ब्रेक लगाइदियो । नवाङको पारिवारिक बिरासत नै हिमालसँग जोडिएको छ । उनका बुबा र दाजुहरू पनि आरोहणमा संलग्न हुँदा नवाङलाई समेत यस यात्रामा होमिन समस्या थिएन ।

संखुवासभा मकालुमा सन् १९९७ मा उनको जन्म भएको थियो । बुबा पासाङग्याल्जे शेर्पा समेत पर्वतारोही हुन् । उनी अहिले सेभेन समिटमा कार्यरत थिए । २०१९ मा अन्तर्राष्ट्रिय आरोहण टोलीका साथ आइसल्यान्ड पिक आरोहण गर्दै उनले हिमालतर्फको सफलता थालेका थिए ।

त्यसयता उनले १५ पटक आरोहण यात्रा पूरा गरेका थिए । २०२२ मा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका उनी २०२३ मा सगरमाथाको चौथो क्याम्पसम्म पुगेका थिए । त्यसअघि २०२१ मा पनि उनी चौथो क्याम्पसम्म पुगेर फर्किएका थिए । २०२३ मा उनले अमादब्लम हिमालको दुई पटक सफल आरोहण गरेका थिए ।

आरोहीको सफलताका भरपर्दा सहयोगी ग्यालु शेर्पा  

२०३५ सालमा ओखलढुंगा पात्नेमा जन्मिएका ग्यालु शेर्पा सेभेन समिट ट्रेकमा कार्यरत थिए । सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका उनी विभिन्न हिमाल १९ भन्दा धेरै पटक आरोहण गरिसकेका थिए । ग्यालु आफैं कीर्तिमान बनाउन भन्दा पनि आरोहीलाई चुचुरोमा सहज र सुरक्षित तरिकाले पुर्‍याउन तल्लीन हुन्थे । उनको पहिलो आरोहण सन् २०१५ मा लेनिन पिकबाट भएको नेपाल पर्वतारोहण संघबाट प्राप्त विवरणमा उल्लेख छ ।

सोही वर्ष उनले मेरा पिक र लोबुचे हिमाल आरोहण गरेका थिए । २०१९ मा ८ हजार मिटरमाथिको कञ्चनजंघा आरोहण गरेका उनले गत आरोहण सिजनमा सगरमाथा शिखर चुमेका थिए ।

२०२५ मा उनी रोप फिक्सिङ टिमको सदस्यका रूपमा कञ्चनजंघा खटिएका थिए । उनले सर्वाधिक पटक आरोहण गरेको हिमाल पनि सोही हो । २०२५ को वसन्त ऋतुको आरोहण सिजनमा उनले कञ्चनजंघा चुचुरोमा तीन पटक पाइला राखेका थिए ।

आरोहण परिभाषा बदलेका निम्स दाइ

म्याग्दीमा जन्मिएका निर्मल पुर्जा (निम्स दाइ) बेलायती सेनामा काम गर्थे । जबसम्म उनी गोरखा सैनिकमा सक्रिय थिए, तबसम्म उनको पहिचान अन्तर्राष्ट्रिय आरोहीका रूपमा स्थापित थिएन ।

यद्यपि, उनी गोरखा सैनिकमै हुँदा आरोहण यात्रा भने थालिसकेका थिए । उनको आधिकारिक वेवसाइट निम्सदाइ डटकमका अनुसार उनले कुल १६ वर्ष सेनामा बिताए । त्यसमध्ये उनले ६ वर्ष गोरखा र १० वर्ष ‘यूके स्पेसल फोर्स’ (एसबीएस) मा बिताए ।

उनी १८ वर्षको उमेरमा सन् २००३ मा गोरखा सैनिकमा भर्ती भएका थिए । म्याग्दीमा जन्मिए पनि उनी चितवनमा हुर्किएका थिए । सोहीकारण उनको प्रारम्भिक जीवनमा भने हिमाल जोडिएको थिएन । पढाइमा तीक्ष्ण निम्स दाइको बाल्यकालको शोख हिमाल चढ्ने पनि थिएन ।

उनको अर्कै लक्ष्य थियो । आफ्ना बुबा र दाजुहरू झैं बेलायती सेनामा गोरखा भर्ती हुनु । सोही क्रममा उनले २००३ मा आफ्नो पहिलो सपना पूरा गरेका थिए ।

आफ्नो सपना पूरा गर्न जुनसुकै कदम उठाउन पछि नपर्ने निम्स दाइ २००९ मा गोरखा सैनिकबाट स्पेसल बोट सर्भिसमा आबद्ध हुने पहिलो गोरखा सैनिक बने । यस युनिटमा मुख्यतया रोयल मरिन्स कमान्डो हुन्छन् । यो युनिट गोप्य र रणनीतिक कारबाहीमा विशेष दखल राख्छ ।

उीले २०१२ देखि हिमाल आरोहण यात्रा थालेका थिए । स्पेसल फोर्सको ड्युटीबाट छुट्टीमा आएको मौकामा उनले सगरमाथा आधार शिविरको यात्रा तय गरे । यो यात्राले उनको हिमालप्रतिको लगाव र महत्त्वाकांक्षा ह्वात्तै बढायो ।

सोही यात्राबाट काठमाडौं फर्किएपछि उनले आफ्ना गाइडसँग आरोहण सिक्ने इच्छा व्यक्त गरे । सोही क्रममा उनी गाइसँगै ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहणमा गए । सफल आरोहण समेत गरे ।

जुन उनको हिम चुचुरातर्फको पहिलो पाइला थियो । त्यही  आरोहणपछि भने उनी सैन्य सेवामै फर्किए । एसबीएसमा उनी अधिक चिसो मौसमको युद्धकला सम्बन्धी विषयविज्ञको भूमिकामा पुगे ।

निम्सदाइ डटकमका अनुसार त्यहीबेला उनले जुनसुकै कठिन अवस्थामा पनि शीघ्र मूल्यांकन गर्ने र अरूको सुरक्षा सुनिश्चित गर्ने क्षमता विकास गरे । यो सिप अन्तत: उनलाई कठिन आरोहण यात्रालाई सहजै पार लगाउन सहयोगी समेत सावित भयो । उनी सैन्य सेवामा छुट्टी पाउने बित्तिकै नेपाल फर्किएर आरोहणलाई निरन्तरता दिन थाले ।

प्रारम्भमा उनी हिमाल आरोहण गरी आफ्नो कीर्तिमान बनाउने भन्दा पनि संकटमा परेका आरोहीलाई उद्धार र सहयोगमा केन्द्रित थिए । २०१९ मा उनले ६ महिना ६ दिनमा ८ हजार मिटर अग्ला संसारका सबै १४ हिमालचुली चुमेर कीर्तिमान बनाएका छन् ।

निम्स दाइले २०२१ मा माउन्ट केटु १० नेपाली आरोही टोलीसँगै विन्टर सिजनमा पहिलो पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए ।

उनीसँग ५ दिनमा सगरमाथा, ल्होत्से र मकालु आरोहणको कीर्तिमान समेत छ । उनले बेलायती महारानी एलिजाबेथ द्वितीयबाट एमबीई सम्मान प्राप्त गरेका थिए । निम्स दाइले सगरमाथामा स्काइडाइभ गरेर साहसिक पर्यटन प्रवर्द्धन गरेका थिए ।

निम्स दाइले ८ हजार मिटरभन्दा अग्ला हिमाल ५७औं पटक आरोहण गरी नयाँ कीर्तिमान बनाएका थिए । जसमध्ये विनाअक्सिजन २९ वटा आरोहण समावेश छन् । अघिल्लो सातामात्र उनले पाकिस्तानको गसेरब्रम २ आरोहण गरी ५७औं आरोहण पूरा गरेका थिए ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?