+
+
Shares

चीन र दक्षिण एसियाबीचको सहकार्यलाई नेपालले पुलको भूमिका निर्वाह गर्न सक्छ : मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले चीन र दक्षिण एसियाबीच आर्थिक तथा व्यापारिक सहकार्य विस्तारका लागि गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताएका छन्।
  • मन्त्री खनालले नेपालको परराष्ट्र नीतिको मूल उद्देश्य जनताको जीवनस्तर सुधार गर्नु रहेको बताउँदै 'आर्थिक कूटनीति आज हाम्रो परराष्ट्र नीतिको केन्द्रीय प्राथमिकता बनेको छ' भनेका छन्।
  • उनले नेपालको जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै भूपरिवेष्ठित मुलुकलाई जीवन्त पुलमा रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।

२२ साउन, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

ललितपुरमा शुक्रबार आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन-भारत-नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले नेपालले दुवै छिमेकी मुलुकसँग सार्वभौम समानता, पारस्परिक सम्मान, पारस्परिक हित तथा एकअर्काका वैध चासोप्रतिको संवेदनशीलताका आधारमा स्वतन्त्र रूपमा सम्बन्ध सुदृढ गर्दै आएको उल्लेख गरे।

खनालले एसियाको तीव्र आर्थिक रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको उल्लेख गर्दै सहकार्य नै दिगो विकास र समृद्धिको सबैभन्दा भरपर्दो माध्यम भएको बताए। ‘एसियाको रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको छ। सहकार्य नै दिगो विकास र दीर्घकालीन समृद्धिको सुनिश्चित मार्ग हो,’ उनले भने।

उनले चीन र भारतको निरन्तर आर्थिक उन्नतिले नेपालसहित छिमेकी मुलुकहरूलाई व्यापार विस्तार, लगानी आकर्षण, पूर्वाधार तथा कनेक्टिभिटी विकास, पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्य विस्तारका नयाँ अवसर प्रदान गरेको बताए। परराष्ट्रमन्त्री खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको स्पष्ट पार्दै यसको मूल उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु रहेको उल्लेख गरे । ‘हाम्रो परराष्ट्र नीति जनताको जीवनस्तर सुधारसँग जोडिएको छ। व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु नै यसको मूल उद्देश्य हो,’ उनले भने।

उनले दक्षिण एसियामा विशाल आर्थिक सम्भावना हुँदाहुँदै पनि क्षेत्रीय आर्थिक एकीकरण अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै कनेक्टिभिटी, सहज व्यापार, लगानी प्रवाह तथा आपूर्ति शृंखला सुदृढ गर्न सके क्षेत्रले उल्लेखनीय आर्थिक लाभ हासिल गर्न सक्ने धारणा व्यक्त गरे। ‘हाम्रो सहकार्यको सफलता हामीले कति सम्झौता गर्‍यौँ भन्ने होइन, आफ्ना नागरिकका लागि कति अवसर सिर्जना गर्न सक्यौँ भन्ने आधारमा मापन हुनुपर्छ,’ उनले थपे, ‘आर्थिक कूटनीति आज हाम्रो परराष्ट्र नीतिको केन्द्रीय प्राथमिकता बनेको छ। नेपाल दिगो, समावेशी र उत्थानशील विकासका लागि सबै मित्रराष्ट्रसँग सहकार्य गर्न तयार छ ।’

उनले नेपाल दुई ठूला तथा तीव्र गतिमा विकसित अर्थतन्त्रबीच अवस्थित भएकाले त्यसलाई आर्थिक अवसरका रूपमा लिइएको उल्लेख गर्दै नेपाललाई भूपरिवेष्ठित मुलुकबाट चीन र दक्षिण एसियालाई जोड्ने गतिशील पुलका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे। ‘हाम्रो आकांक्षा नेपाललाई भूपरिवेष्ठित देशबाट चीन र दक्षिण एसियालाई जोड्ने जीवन्त र गतिशील पुलमा रूपान्तरण गर्नु हो,’ उनले भने।

परराष्ट्रमन्त्री खनालले नेपालसँग ४२ हजार मेगावाटभन्दा बढी आर्थिक रूपमा सम्भाव्य जलविद्युत् क्षमता, समृद्ध जैविक विविधता, प्रचुर जलस्रोत, उर्वर कृषि क्षेत्र तथा विस्तारोन्मुख डिजिटल अर्थतन्त्रका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताए। साथै, भगवान् बुद्धको जन्मस्थल, गुरु पद्मसम्भवको आध्यात्मिक विरासत, सगरमाथा तथा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाले नेपालको ‘सफ्ट पावर’लाई थप सुदृढ बनाएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?