News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीले विदेशमा आर्जन गरेको शैक्षिक क्रेडिट नेपालका विश्वविद्यालयमा ट्रान्सफर गर्न मिल्ने गरी एकेडेमिक क्रेडिट बैङ्क स्थापना गरेको छ ।
- सहायक निर्देशक सीताराम भट्टराईले भने, 'मुलुक भित्र र बाहिर विद्यार्थीले उच्च शिक्षा अध्ययन गरी आर्जन गरेको शैक्षिक क्रेडिट सञ्चय र ट्रान्सफर गरी उच्च शिक्षामा गतिशिलता तथा निरन्तरतालाई प्रबर्द्धन गर्ने उद्देश्यले क्रेडिट बैंक स्थापना गरिएको हो ।'
- क्रेडिट बैंकमा जम्मा गरिएको क्रेडिट स्नातक तहका लागि सात वर्ष र स्नातकोत्तर तहका लागि पाँच वर्षभित्र ट्रान्सफर तथा उपयोग गर्न सकिने गरी निर्देशिका बनाइएको छ ।
२२ साउन, काठमाडौं । २०८२ वैशाखमा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्ड्रस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा एक नेपालीको मृत्यु भएपछि विद्यार्थीहरूले क्रेडिट आवर ट्रान्सफर गरी आफ्नै देशमा पढ्न चाहेका थिए ।
तर, क्रेडिट आवर ट्रान्सफरको स्पष्ट नीति नहुँदा समस्या परेको थियो । अब विदेशमा अध्ययन गर्दागर्दै कुनै कारणले फर्किनु परेमा नेपालकै विश्वविद्यालमा पढाइलाई निरन्तरता दिन मिल्ने भएको छ ।
विश्वविद्यालय अनुदान आयोगले क्रेडिट ट्रान्सफर गरी नेपालको जुनसुकै विश्वविद्यालयमा पढाइलाई निरन्तरता दिन पाउने नियमा बनाएको छ । साथै, नेपालमा अध्ययन गर्दागर्दै विदेश जानु परेमा पनि आफ्नो क्रेडिट सञ्चय गरी राख्न मिल्ने गरी निर्देशिका बनाएको छ ।
आयोगका सहायक निर्देशक सीताराम भट्टराईका अनुसार अध्ययन रोकेर विदेशमा रोजगारी गर्न गयो भने केही वर्षपछि फर्किएर फेरि अध्ययन पूरा गर्न पाउने गरी क्रेडिट बैंकको स्थापना गरिएको छ ।
‘मुलुक भित्र र बाहिर विद्यार्थीले उच्च शिक्षा अध्ययन गरी आर्जन गरेको शैक्षिक क्रेडिट सञ्चय र ट्रान्सफर गरी उच्च शिक्षामा गतिशिलता तथा निरन्तरतालाई प्रबर्द्धन गर्ने उद्देश्यले क्रेडिट बैंक स्थापना गरिएको हो,’ सहायक निर्देशक भट्टराईले भने ।
यो नियमले स्वास्थ्य, पारिवारिक वा अन्य कुनै कारणले फर्किनु परेमा ती विद्यार्थीले नेपालमै डिग्री पूरा गर्न सक्ने छन् । नेपाल फर्किएपछि विद्यार्थीले विदेशमा आर्जन गरेको डिग्री योग्य क्रेडिटलाई विश्वविद्यालय अनुदान आयोगले स्थापना गरेको ‘एकेडेमिक क्रेडिट बैंक’मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

के हो क्रेडिट बैंक ?
एकेडेमिक क्रेडिट बैङ्क (एबीसी) भन्नाले विद्यार्थीले आर्जन गरेको एकेडेमिक क्रेडिट सञ्चय र ट्रान्सफर गर्न सुविधा प्रदान गर्न आयोगले सञ्चालन गरेको सेवा प्रणाली (डिजिटल प्लेटफर्म) हो । जसमा विद्यार्थीको एकेडेमिक बैंक खाता हुन्छ । विद्यार्थीले अध्ययन गरेर आर्जन गरेका शैक्षिक क्रेडिटहरू आफ्नो एकेडेमिक क्रेडिट बैंक खातामा राख्न पाउने छन् । प्रत्येक विद्यार्थीलाई डिजिटल रूपमा व्यक्तिगत एकेडेमिक बैङ्क खाता खोल्ने सुविधा हुनेछ ।
‘खाता खोल्न विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र र मान्यता प्राप्त उच्च शैक्षिक संस्थाबाट आर्जन गरेको क्रेडिट विवरण र कागजातहरू पेस गर्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ ।
एकेडेमिक क्रेडिट बैङ्कमा सञ्चय गरेको क्रेडिट विद्यार्थीको अनुरोधमा कुनै एक उच्च शैक्षिक संस्थाबाट नेपालको अर्को कुनै उच्च शैक्षिक संस्था वा एकै शैक्षिक संस्थाभित्र ट्रान्सफर गर्न मिल्छ ।
‘विद्यार्थीले कुनै पनि मुलुकको कानुनबमोजिम स्थापना भएको विश्वविद्यालयमा आर्जन गरेको क्रेडिटलाई सञ्चय गरी भविष्यमा आफ्नो आवश्यकताअनुसार ट्रान्सफर र उपयोग गर्न सक्ने गरी क्रेडिट बैङ्कमा जम्मा गर्न सक्छन्,’ सहायक निर्देशक भट्टराईले भने । एकेडेमिक क्रेडिट बैंकले विद्यार्थीको क्रेडिट प्रमाणीकरण, सञ्चय तथा ट्रान्सफर गर्नेछ ।
ट्रान्सफरको अवधि स्नातकको ७ वर्ष, स्नातकोत्तरमा ५ वर्ष
क्रेडिट ट्रान्सफर गर्न विद्यार्थीले आयोगमा निवेदन दिनु पर्छ । विद्यार्थीले अध्ययन गर्न चाहेको विश्वविद्यालयले उक्त क्रेडिट उपयोग गर्ने सुनिश्चित भएपछि विद्यार्थीले निवेदन दिनु पर्ने हुन्छ ।
‘विद्यार्थीले निवेदन दिएलगत्तै आयोगले क्रेडिट जम्मा गर्दैन । सम्बन्धित विदेशी विश्वविद्यालयबाट विद्यार्थीले कति क्रेडिट आर्जन गरेको हो भन्ने आधिकारिक विवरण आउनु पर्छ । त्यसको आधारमा मात्र क्रेडिट बैंकमा सुरक्षित गरिन्छ,’ भट्टराईले भने ।
क्रेडिट बैंकमा जम्मा गरेको आधारमा विश्वविद्यालयलाई आयोगले क्रेडिट ट्रान्सफरको विवरण उपलब्ध गराउने छ । सम्बन्धित विश्वविद्यालयसँग विषयवस्तु नमिलेसम्म क्रेडिट स्वीकार हुँदैन । ‘तर अहिले नमिल्ने अवस्था छैन । धेरै कार्यक्रमहरू सञ्चालनमा रहेकाले कुनै न कुनैमा मिल्ने आधार भेटिन्छ,’ भट्टराईले भने ।
विद्यार्थीले एकेडेमिक क्रेडिट बैंकमा जम्मा गरेको क्रेडिट स्नातक तहको हकमा ७ वर्ष र स्नातकोत्तर तहको हकमा ५ वर्षभित्र मात्र ट्रान्सफर र उपयोग गर्न मिल्नेछ । तोकिएको उक्त समयपछि भने क्रेडिट ट्रान्सफर हुने छैन ।
विद्यार्थीले आर्जन गरेको क्रेडिट विश्वविद्यालयको पाठ्यक्रम तथा विषयको समानताअनुसार एक वा सो भन्दा बढी उपाधिका लागि उपयोग गर्न सक्नेछ ।
‘अन्तरविधागत विषयको क्रेडिट विधागत/विषयगत रूपमा समानता भए/नभएको यकिन गरी सम्बन्धित विश्वविद्यालयको प्राज्ञिक परिषद् वा सम्बन्धित निकायको स्वीकृतिमा मात्र ट्रान्सफर गर्न सकिने छ,’ निर्देशिकामा भनिएको छ । सेमेस्टर वर्ष पूरा नभएको क्रेडिट भने ट्रान्सफर हुने छैन । क्रेडिट ट्रान्सफर गर्न सेमेस्टर पूरा भएको हुनु पर्छ ।
ट्रान्सफर गरिएको क्रेडिट उपयोग गर्ने/नगर्नेसम्बन्धी निर्णय सम्बन्धित विश्वविद्यालमा रहने छ । ‘आयोगले सहजीकरण गर्ने हो । सम्बन्धित विश्वविद्यालयले क्रेडिट स्वीकार गर्ने निर्णय गर्यो भने बैंकमा सुरक्षित रहेका क्रेडिट विश्वविद्यालयमा ट्रान्सफर गरिदिन्छौँ,’ भट्टराईले भने ।
क्रेडिट ट्रान्सफरको अधिकतम सीमा विद्यार्थीले अध्ययन गर्न चाहेको सम्बन्धित पाठ्यक्रमको ५० प्रतिशतभन्दा बढी हुने छैन । क्रेडिट ट्रान्सफरबाट प्राप्त भएको क्रेडिटसम्बन्धी विवरण शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट) मा अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ । यो निर्देशिका सबै विश्वविद्यालयका लागि हो ।
‘भारतको एउटा घटनापछि यो विषय उठ्यो । विद्यार्थीको मृत्यु भएपछि विद्यार्थी नेपाल आउन चाहेका थिए । त्यसपछि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयले आ–आफ्नो तहबाट क्रेडिट ट्रान्सफरको सूचना जारी गरेका थिए । तर राष्ट्रिय नीति आवश्यक रहेकाले आयोगले निर्देशिका जारी गरेको हो,’ भट्टराईले भने ।
हाल नेपालका कतिय विश्वविद्यालयले क्रेडिट ट्रान्सफर गरिरहेका छन् । तर सबैलाई एकरूपता बनाउन आयोगले निर्देशिका बनाएको हो ।
कहिलेबाट लागु हुन्छ ?
आयोगका अनुसार निर्देशिका लागु भइसकेको छ । ‘कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया बनाउन बाँकी छ । सफ्टवेयर, एप विकास तथा अन्य प्राविधिक तयारी गर्नु पर्नेछ,’ भट्टराईले भने । आयोगका पदाधिकारी रिक्त भएकाले काम अघि बढ्न सकेको थिएन । आयोगमा पदाधिकारी नियुक्ति भएकाले अब प्रक्रिया सुरु गरिने उनले बताए । ‘निर्देशिका तयार भइसकेकाले यही आर्थिक वर्षभित्र कार्यान्वयन सुरु गर्ने लक्ष्य छ,’ उनले भने ।
प्रतिक्रिया 4