२२ साउन, काठमाडौं । सरकारले कला-साहित्यसँग सम्बन्धित तीन महत्वपूर्ण प्रतिष्ठानमा नयाँ पदाधिकारी र सदस्य नियुक्त गरेको छ । सरकारले तीनै प्रज्ञा प्रतिष्ठानमा नयाँ कुलपति, उपकुलपति र सदस्यसहितको नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो ।
सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एरिना ताम्राकार कुलपति बनाएको छ ।
तीनै जना नयाँ कुलपतिले शुक्रबार पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल(गनेस)ले उनीहरूलाई शपथग्रहण गराए ।
उनीहरू तीनै जना आ–आफ्नो विधाका चर्चित नाम हुन् । उनीहरूले कला-साहित्य क्षेत्रमा देशभित्र र बाहिर राम्रै ख्याति कमाएका छन् ।
नयाँ कुलपति को हुन् ?
नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त कुमार नगरकोटीको जन्म सन् १९७४ मा भएको हो ।
उनी एक डायनामिक लेखकका रूपमा परिचित नाम हुन् । उनी नेपाली साहित्यमा अतियथार्थवाद र जादुयी यथार्थवाद शैलीका लागि प्रख्यात छन् ।
उनको लेखन अनौठो, प्रयोगधर्मी, दार्शनिक र विचित्र कथावस्तुले भरिएको हुन्छ । उनी आफूलाई फिक्सन डिजाइनर भन्न रुचाउँछन् ।
करिब एक दर्जन पुस्तक प्रकाशित गरेका उनले कविता, नाटक, संस्मरण, कथा, उपन्यास लगायत विधामा पनि कलम चलाएका छन् ।
मोक्षान्त काठमाडौं फिभर, फोसिल, अक्षरगन्ज, घाटमाण्डु, मिस्टिका उनका केही चर्चित पुस्तक हुन् ।
यस्तै, ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिको जिम्मेवारी पाएकी एरिना ताम्राकार नेपालकी समकालीन भिजुअल आर्टिस्ट हुन् । सन् १९७० मा पाटनमा जन्मिएका ताम्राकारले त्रिभुवन विश्वविद्यालयबाट फाइन आर्ट्समा मास्टर्स गरेकी छन् ।
उनी काष्ठमण्डप आर्टिस्ट ग्रुप र ई–आर्ट्सका सहसंस्थापक हुन् ।
विभिन्न देशमा अन्तर्राष्ट्रिय प्रदर्शनी गरेकी ताम्राकारका काम महिलाका विषयमा केन्द्रित हुन्छन् ।
उनको तेस्रो आँखा सिरिज निकै चर्चित छ ।
यस्तै, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिको जिम्मेवारी पाएका ब्रजेश खनाल अभिनेता, चलचित्र कथा–पटकथा तथा संवाद लेखक हुन् ।
यस्तै उनले निर्देशक, स्तम्भकार र उपन्यासकारको परिचय पनि बनाएका छन् ।
काठमाडौंमा जन्मे–हुर्केका खनालले ५० भन्दा बढी नेपाली चलचित्रका लागि कथा, पटकथा र संवाद लेखेका छन् ।
करोडपति, नेपाली बाबु, गोठालो केही उदाहरण हुन् ।
यस्तै, उनले यायावर, जुनेली, साइड हिरोजस्ता चर्चित पुस्तक पनि लेखेका छन् ।
उपकुलपति र सदस्य पनि नियुक्त
यसैबीच सरकारले तीन वटै प्रतिष्ठानमा शुक्रबार उपकुलपति र सदस्य पनि नियुक्त गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा अविनाश श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा चन्द्रश्याम डंगोल र संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा झुमा बनेम नियुक्त भएका छन् ।
तीनै प्रज्ञाका पदाधिकारीहरूको सूची :

प्रतिक्रिया 4