News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाका किसानहरू न्यून लगानीका कारण पुस्तौंदेखि चलिआएको परम्परागत घारमा नै मौरीपालन गर्न आकर्षित भएका छन् ।
- कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा ११ हजार ९३२ घारमा मौरीपालन हुँदै आएको छ र यसबाट वार्षिक करिब ४ करोड रुपैयाँ आम्दानी हुने गरेको छ ।
- सरकारले आधुनिक घारको प्रयोग बढाउन अनुदान, तालिम र प्रविधिमा पहुँच पुर्याउने कार्यक्रम सञ्चालन गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले बताए ।
२४ साउन, धनकुटा । घर वरिपरि राखिएका काठका पुराना घार । घारभित्र भुनभुनाइरहेका मौरी । कुनै आधुनिक उपकरण छैन, न त ठूलो लगानी । आफ्नै सीप, स्थानीय स्रोत र पुस्तौंदेखि चलिआएको प्रविधिको भरमा धनकुटाका किसानले मौरीपालनलाई आम्दानीको माध्यम बनाइरहेका छन् ।
मौरीपालनमा आधुनिक घारको प्रयोग बढिरहेको चर्चा भइरहेका बेला धनकुटामा भने अझै परम्परागत घारको प्रयोग उल्लेख्य छ ।
आधुनिक घारमा मह निकाल्न सहज हुने, मौरी व्यवस्थापन गर्न सजिलो हुने र एउटै चाकाबाट पटकपटक मह उत्पादन गर्न सकिने भए पनि धेरै किसान पुरानै प्रविधिमा निर्भर छन् । यसको मुख्य कारण कम लगानीमा मौरीपालन गर्न सकिने सुविधाले नै किसान परम्परागत घारमा मौरीपालन गर्दै आएका हुन् ।
धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ८, मुगाका किसान प्रेमबहादुर राई यसको उदाहरण रहेका छन् । उनले घर वरिपरि करिब ३० घार मौरी पालिरहेका छन् । तर उनको घर वरिपरि सबै घार परम्परागत रहेका छन् । ठूलो रकम खर्च गरेर आधुनिक घार खरिद गर्नुभन्दा आफ्नै सीप र स्थानीय रुपमा उपलब्ध सामग्री प्रयोग गरेर मौरीपालन गर्दै आएको राई बताउँछन् ।
घरायसी कामसँगै मौरीपालनबाट सामान्य घरखर्च जुटाउन सहयोग पुगेको उनको भनाइ छ । राईले यसरी नै मौरीपालन गर्दै वर्षको करिव ७५ हजारदेखि एक लाखसम्म आम्दानी गर्दै आएको बताए ।

उनले बाबुबाजेका पालादेखि परम्परागत घारमा मौरी पालन गर्दै आएकोले अहिले पनि यसैलाई निरन्तरता दिएको बताए । राईले ग्रामीण क्षेत्रमा मौरीपालन गर्दा ठूलो लगानीमा आधारित व्यवसायभन्दा स्थानीय ज्ञान र परम्परागत सीपमा राम्रो भइरहेको बताए ।
आधुनिक घार प्रयोग गर्दा मौरी व्यवस्थापन र मह संकलन तुलनात्मक रुपमा सहज हुने गरेको छ । तर एउटा आधुनिक घार किन्न किसानले कम्तिमा ५ हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ । सामान्य किसानका लागि सुरुआतमै गर्नुपर्ने यो लगानी ठूलो हुनसक्ने राईले बताए । त्यसको तुलनामा परम्परागत घार किसानले आफ्नै सीप र स्थानीय सामग्रीबाट निर्माण गर्न सकिने र अतिरिक्त खर्च नगरी मौरीपालन सुरु गर्न सकिने राईले बताए ।
आधुनिक घारमा मह निकाल्न सजिलो हुने र मौरीले एउटै चाकामा पटकपटक मह लगाउन सक्ने महालक्ष्मी नगरपालिका वडा नं. २ का किसान कुलकेशर दाहालले बताए । उनले आधुनिक घारमा रानी मौरीलाई भाग्नबाट रोक्न पनि उपयोगी हुने तथा आधुनिक घारमा प्रयोग गर्दा घार टाल्न हिलो माटो र गोर प्रयोग गर्नुपर्ने झन्झट रहेको पनि बताए ।
‘परम्परागत घारमा भने यी सुविधा कम हुन्छन् । मह उत्पादन पनि आधुनिक घारको तुलनामा कम हुन सक्छ’, दाहालले भने, ‘तर प्रारम्भिक लगानी कम लाग्ने भएकाले किसानहरु अझै परम्परागत घारमै आकर्षित भएका छन् ।’ दाहालले आफूले मौरीपालनमा केही घार आधुनिक भएपनि केही परम्परागत घार नै प्रयोग गरिरहेको बताए ।

राई र दाहालको मौरीपालन हेर्दा धनकुटामा मौरीपालनका पुस्तौंदेखि चलिआएको परम्परागत घार र उत्पादन तथा व्यवस्थापनलाई सहज बनाउने आधुनिक घार दुवै प्रविधि सँगसँगै रहेको देखिन्छ ।
धनकुटामा मौरीपालन सानो घरेलु गतिविधिमा मात्र सीमित भने रहेको छैन । कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांकअनुसार धनकुटा जिल्लामा हाल ११ हजार ९३२ घारमा मौरीपालन भइरहेको छ । तीमध्ये करिब ५ हजार घार आधुनिक रहेका छन् भने बाँकी घारमा परम्परागत प्रविधिबाट मौरीपालन भइरहेको छ ।
जिल्लामा मौरीपालनबाट वार्षिक करिब २९ दशमलब ६ मेट्रिकटन मह उत्पादन हुने गरेको ज्ञान केन्द्रको भनाइ छ । उत्पादित मह बिक्रीबाट धनकुटाका किसानले वार्षिक करिब ४ करोड रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
धनकुटामा मुख्य रुपमा सेरेना जातको मौरी पालन हुने गरेको छ । स्थानीय हावापानी र उपलब्ध वनस्पतिका कारण जिल्लाका विभिन्न क्षेत्रमा मौरीपालनका लागि राम्रो सम्भावना रहेको किसानहरु बताउने गरेका छन् ।
आधुनिक घारको प्रयोग बढाउन किसानलाई प्रविधि, तालिम र आवश्यक सामग्रीमा पहुँच बढाउनुपर्ने आवश्यकता रहेको देखिएको पनि छ । आधुनिक घारले उत्पादन बढाउन र मौरी व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग गर्ने भएकाले परम्परागत सीपसँगै नयाँ प्रविधिको संयोजन गर्न सकिने बताइएको छ ।

किसानलाई आधुनिक घारतर्फ आकर्षित गर्न केन्द्र, प्रदेश र स्थानीय सरकार तथा विभिन्न संघसंस्थाले तालिम तथा अन्य कार्यक्रम सञ्चालन गर्दै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले बताए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा किसानको २५ प्रतिशत लागतमा तथा ७५ प्रतिशत अनुदानमा आधुनिक घार वितरण गरिएको थियो । गत आर्थिक वर्षमा किसानको उत्पाद प्रदर्शनी तथा केही किसानलाई घार लगायतका सामान सहित तालिम गरिएको रानाले बताए ।
त्यसो त धनकुटामा उत्पादित महको बजार पनि विस्तार हुँदै गएको छ । जिल्लाभित्रका स्थानीय बजारदेखि तराईका विभिन्न बजार र राजधानी काठमाडौंसम्म धनकुटाको मह पुग्ने गरेको छ । केही मह कोशेलीका रुपमा विदेशसम्म पनि पुग्ने गरेको किसानहरुको भनाइ छ । धनकुटा जिल्लाको विशेषगरी पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिका र सहिदभूमि गाउँपालिका मौरीपालन हुँदै आएको छ।




प्रतिक्रिया 4