News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको चापाकोट–गल्याङ सडक निर्माण कार्य ३१ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीय बासिन्दाले हिलो, धुलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
- गण्डकी प्रदेश सरकारले दुई वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरेको ११.८ किलोमिटर सडक खण्डको काम समयसीमा सकिँदा आधा मात्र पूरा भएको छ ।
- पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले निर्माण सामग्रीको अभावका कारण काम प्रभावित भएको बताएका छन् भने स्थानीयले यातायात सेवामा सास्ती खेपिरहेका छन् ।
२४ साउन, स्याङ्जा । स्याङ्जाको दक्षिणी क्षेत्र चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोड्ने चापाकोट–गल्याङ सडक निर्माण सुरु भएको ३१ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा कालोपत्र हुन सकेको छैन ।
व्यापार तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले २०५२ सालमा निर्माण थालिएको सडक अझै अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
कुनै समय यही सडक हुँदै चापाकोटदेखि बुटवलसम्म आठवटा मिनीबस र गल्याङसम्म १५ वटा बोलेरो जिप नियमित सञ्चालन हुने गर्थे । अहिले सडकको अवस्था र यात्रुको चापका कारण सार्वजनिक यातायात सेवा निकै घटेको छ । अहिले एक-दुई वटा मात्र सवारी सञ्चालन हुने र यात्रु नपुगे रिजर्भ गर्नुपर्ने अवस्था रहेको स्थानीय नरेन्द्र अर्यालले बताए ।
चापाकोटको दामाचौरदेखि गल्याङसम्मको २७ किलोमिटर सडकखण्डमध्ये ११.८ किलोमिटर अझै सहज रूपमा सञ्चालन गर्न कठिन रहेको अर्यालले बताए । उनका अनुसार जिल्लाका अन्य धेरै सडक कालोपत्रे भइसक्दा पनि यो सडकमा स्थानीयले हिलो, धुलो र जोखिमपूर्ण यात्राको समस्या भोगिरहेका छन् ।
सडक निर्माण पूरा नहुँदा मनहरी, बेलचौर, आपचौर, ढाडेखोला, सम्पास र प्याउनासलगायतका बस्तीका बासिन्दालाई बजारसम्म पुग्न तथा दैनिक आवतजावत गर्न समस्या भएको छ ।
दुई वर्षमा सक्ने सम्झौता, आधा मात्रै काम
गण्डकी प्रदेश सरकारले २०८० चैतमा ११.८ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौताको अवधि सकिए पनि सडकको आधा काम मात्र पूरा भएको छ ।
बारिचौरदेखि तेउनास केराघारीसम्मको सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्ने जिम्मा अमर कन्स्ट्रक्सनले पाएको हो । ४२ करोड ४२ लाख ९४ हजार ६७९ रुपैयाँ १६ पैसा लागतमा ठेक्का सम्झौता भएको सडक समयमै निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले समस्या भोगिरहेका छन् ।
पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख गुरुदत्त अधिकारीका अनुसार निर्माण सामग्रीको अभावका कारण काम प्रभावित भएको हो । करिब ६ किलोमिटर सडकमा सबबेसको काम सकिएको र नाला निर्माणको काम पनि अधिकांश पूरा भएको उनले बताए ।
सार्वजनिक यातायातसमेत प्रभावित
चापाकोट-गल्याङ सडक गल्याङ हुँदै बुटवल र तनहुँको दुलेगौंडा हुँदै राजधानी जोड्ने महत्वपूर्ण मार्गका रूपमा लिइन्छ । सडकको अवस्था कमजोर हुँदा स्थानीय अहिले कालीगण्डकी करिडोर हुँदै लामो र झन्झटिलो यात्रा गर्न बाध्य छन् ।
स्थानीयका अनुसार निर्माण कम्पनीले प्रभावकारी रूपमा काम अघि बढाउन नसक्नु, निर्माण सामग्री सहज रूपमा उपलब्ध नहुनु र पटक–पटक म्याद थपिँदा पनि काम सम्पन्न नहुनु समस्या लम्बिनुको मुख्य कारण हो ।
सडक समयमै स्तरोन्नति भए चापाकोटसहित दक्षिणी स्याङ्जाका हजारौँ नागरिकको आवागमन सहज हुने स्थानीयको भनाइ छ । सडक निर्माण पूरा हुँदा यस क्षेत्रको व्यापार, पर्यटन र समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4