News Summary
Generated by OK AI. Editorially reviewed.- सिल्क ग्रुपले ढुवानी व्यवसायबाट एक दशकमा व्यापार, जलविद्युत्, खेलकुद र ई–कमर्स क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ ।
- कम्पनीले जुलाई २९ देखि ‘चिनाबजार’ नामक ई–कमर्स प्लेटफर्ममार्फत चीनका उत्पादन नेपाली उपभोक्तासम्म पुर्याउने योजना अघि सारेको छ ।
- ग्रुपले भविष्यमा आईपीओ निष्कासन गर्ने, वीरगन्ज र भैरहवामा एक्सपेरियन्स स्टोर खोल्ने तथा विद्युतीय ट्रक सञ्चालन गर्ने योजना बनाएको छ ।
काठमाडौं । चीन–नेपाल सीमापार ढुवानी व्यवसायबाट सुरु भएको सिल्क ग्रुपले स्थापनाको एक दशकमा आफ्नो लगानी विभिन्न क्षेत्रमा विस्तार गरेको छ ।
सन् २०१६ मा स्थापना भएको ग्रुपले सिल्क ट्रान्सपोर्ट मार्फत चीनबाट नेपालमा हुने मालसामानको ढुवानी, फ्रेट फर्वार्डिङ, भन्सार सहजीकरण, गोदाम तथा डेलिभरी सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार सिल्क ट्रान्सपोर्टसँग १ सयभन्दा बढी ट्रक र २ सयभन्दा बढी कन्टेनर छन् ।
चीनबाट नेपालको आयात पछिल्ला वर्षमा बढ्दै गएसँगै लजिस्टिक्स व्यवसाय पनि विस्तार भएको कम्पनीको भनाइ छ । आर्थिक वर्ष २०७८/७९ मा चीनबाट नेपालमा २ खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात भएकामा आर्थिक वर्ष २०८१/८२ मा यो बढेर ४ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।
लजिस्टिक्ससँगै सिल्क ग्रुपले व्यापार, जलविद्युत् र खेलकुद क्षेत्रमा समेत लगानी विस्तार गरेको छ । ग्रुपअन्तर्गतको सिल्क मार्केटले चीनबाट रासायनिक मल आयात गर्ने सरकारी सम्झौतामा काम गरेको थियो भने सिल्क पावरले २४.८८ मेगावाटको लुक्ला जलविद्युत् आयोजनामा लगानी गरेको छ ।
खेलकुदमा पनि सक्रिय ग्रुपले सन् २०२२ मा चितवन टाइगर्स क्रिकेट फ्रेन्चाइज खरिद गरेको थियो । सिल्कको स्वामित्वमा चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिगको उपाधिसमेत जितेको थियो ।
पछिल्लो समय ग्रुप ई–कमर्स क्षेत्रमा समेत प्रवेश गरेको छ । जुलाई २९ मा ‘चिनाबजार’ नामक ई–कमर्स प्लेटफर्म सञ्चालनमा ल्याउँदै चीनबाट उत्पादित सामान नेपाली उपभोक्तासम्म प्रत्यक्ष पुर्याउने योजना अघि सारेको हो । काठमाडौंको गुना कम्प्लेक्समा ‘चिनाबजार एक्सपेरियन्स स्टोर’ समेत सञ्चालनमा ल्याइएको छ ।
ग्रुपले आगामी दिनमा वीरगन्ज र भैरहवालगायत प्रमुख सहरमा एक्सपेरियन्स स्टोर विस्तार गर्ने, ५० टनसम्म सामान बोक्ने विद्युतीय ट्रक सञ्चालन गर्ने तथा लजिस्टिक्स र व्यापार व्यवसायलाई थप विस्तार गर्ने योजना बनाएको जनाएको छ । सिल्क ग्रुपले भविष्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणमा जाने तयारीसमेत गरिरहेको छ ।
सिन्धुपाल्चोकका रमेश शेर्पाको नेतृत्वमा पारिवारिक व्यापारबाट सुरु भएको सिल्क ग्रुपले एक दशकमा लजिस्टिक्सलाई आधार बनाएर व्यापार, जलविद्युत्, खेलकुद र डिजिटल कारोबारसम्म आफ्नो व्यवसाय विस्तार गरेको हो ।


प्रतिक्रिया 4