News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले खाना पकाउने ग्यासको अभावमा नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न सरकारसँग इन्डक्सन चुल्हो वितरणको योजना माग गरेकी छन्।
- उनले देशमा बिजुली खेर गइरहेको अवस्थामा ग्यासका लागि नागरिक मध्यरातसम्म लाइन बस्नुपर्ने बिडम्बनापूर्ण स्थितिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
- सांसद अधिकारीले ग्यासको आपूर्तिमा देखिएको पटकपटकको समस्या समाधान गर्न विद्युत् खपत बढाउने र वैकल्पिक इन्धनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताइन्।
२५ साउन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले ग्यासको अभावबाट नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न तत्काल इन्डक्सन चुल्हो वितरणको योजना ल्याउन सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले खाना पकाउने ग्यासका लागि सर्वसाधारण मध्यरातसम्म लाइनमा बस्नुपरेकोतर्फ समेत सरकारको ध्यानाकर्षण गराइन् ।
उनले एकातिर देशमा विद्युत् खेर गइरहेको र अर्कोतिर खाना पकाउने ग्यासका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेकोले वैकल्पिक उर्जाको प्रयोगमार्फत समस्या हल गर्नुपर्ने सुझाइन् ।
सांसद अधिकारीले ग्यास आपूर्तिमा पटक–पटक समस्या देखिए पनि विद्युत् खपतसम्बन्धी नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरिरहेको हो कि भन्ने कुरामा समेत सरकार गम्भीर हुनुपर्ने तर्क गरिन् ।
उनले भनिन्, ‘भान्सामा साँझ र बिहानको छाक टार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन् । आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो सरकार ? एकातिर देशमा बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ । यो भन्दा ठूलो बिडम्बना अरू के हुनसक्छ ।’
उनले थपिन्, ‘यदि ग्यासको यो सास्तीबाट नागरिकलाई साँच्चिकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुल्हो बाँड्ने योजना सरकारले तत्काल ल्याओस् । ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत् खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित त बनाइरहेको छैन ? सरकार यसमा गम्भीर बनोस् ।’
उनले नागरिकले एलपी ग्यासको लागि अझै कति सास्ती भोग्नुपर्ने हो सरकार भन्दै प्रश्न समेत गरिन् ।
प्रतिक्रिया 4