News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको यलुङ-री हिमालको आधार शिविरमा फेला परेका पाँच शवको पहिचान दुई नेपाली पथप्रदर्शक र तीन विदेशी आरोहीका रूपमा भएको छ।
- प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार मृतकहरूमा नेपाली पदम तामाङ र मेर कार्की तथा विदेशीमा क्यानडा, इटली र जर्मनीका नागरिक रहेका छन्।
- गत वर्ष हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनाको शव आइतबार फेला परेको थियो भने चार शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ।
२४ साउन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमालको आधार शिविरमा फेला परेका पाँच वटा शवमध्ये दुई नेपाली र तीन विदेशी आरोहीको रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले आइतबार संकलन भएका पाँच शवमध्ये नेपाली पथप्रर्दशक दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुको माप्यदुधकुण्ड गाउँपालिका-५ का मेर कार्कीको रहेको जानकारी दिए ।
विदेशी आरोहीहरु क्यानडाका मार्को डी मार्सेलो, इटलीका मर्कस करचिलर र जर्मनका क्याकोब इसरिवरको शव भेटिएको उनको भनाइ छ।
खड्काका अनुसार तीन विदेशी र एक पथप्रर्दशकको शव काठमाडौंको शिक्षण अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको र दोलखाका पथप्रदर्शक तामाङको शव चरिकोटमा पोष्टमार्टम गरिनेछ।
चार जनाको शव काठमाडौंमै परिवारको जिम्मा लगाइनेछ भने तामाङको चरिकोटमा पोष्टमार्टम गरेर परिवारलाई दिइने खड्काले बताए।
गत बिहीबार स्थानीयले हिउँ पग्लिएको ठाउँमा शव देखेर खबर गरेपछि शुक्रबार हेलिकप्टरबाट प्रहरी पठाए पनि मौसमका कारण निकाल्न सकिएको थिएन।
आइतबार बिहान मौसम खुलेपछि यलुङ-रीबाट सात पटकको प्रयासमा ती शव संकलन गरेर ना गाउँसम्म ल्याइएको र सोमबार गोंगरबाट हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो।
गत वर्ष विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणका लागि पाँच हजार ६३० मिटर उचाइमा रहेको यलुङ-री हिमालतर्फ गएका थिए।
हिमपहिरोमा परेका आठ जनाको सकुशल उद्धार भएको थियो भने आरोहणका क्रममा सात जना हिमपहिरोमा परी बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई जनाको शव त्यतिबेलै भेटिए पनि पाँच जनाको शव भने भेटिएको थिएन।
प्रतिक्रिया 4